राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको इमर्जेन्सी वार्ड शुक्रबार राति १२ बजेपछि ‘सिल’ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादवले अस्पतालमा उपचाररत एक जना बिरामीमा शुक्रबार कोरोना संक्रमण देखिएपछि उक्त अस्पतालका इमर्जेन्सी वार्डलाई सिल गरिएको बताए ।
इमर्जेन्सी वार्डमा उपचाररत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका–२ का ४८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख यादवले बताए ।
विषादी सेवनका कारण करिब तीन दिनदेखि इमर्जेन्सीमा उपचार गराइ रहेका पुरुषको उपचारमा धेरै चिकित्सक र स्वास्थ्यकर्मी संलग्न भएको पाइएको प्रमुख यादवले जानकारी दिए ।
यसअघि पनि गजेन्द्रनारायण सिंह अस्पतालमा एक जना नर्स र एक जना स्वीपरमा कोरोनाको संक्रमण भेटिएको थियो । त्यसपछि अस्पतालका चिकित्सक र कर्मचारीसहित कूल १७६ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।