रोल्पा। पार्टीभित्र लामो माथापच्ची पछि तत्कालिन माओवादीबाट टिकट पाइ रोल्पा नगरपालिकाका मेयर भएका कृष्णबहादुर महराका छोरी ज्वाई पूर्ण केसी र वर्षमान पुनकी बहिनी मनकुमारी घर्तीको बारेमा अहिले कार्यसम्पादनको प्रश्न उठ्न थालेको छ। स्थानीय निर्वाचन भएको पनि ३ वर्ष वितिसके पछि उनीहरुको कार्यसम्पादनको बारेमा नगरपालिका भित्र नभइ जिल्लामै टिकाटिप्पणी शुरु भएको हो।
मेयरमा निर्वाचित भए लगत्तै सदरमुकाम लिबाङभरी सबैभन्दा राम्रो भवन खोज्न लगाएर तत्कालिन पशु सेवा कार्यालयको नयाँ भवनमा नगरपालिका सारेका थिए । उक्त भवनमा अहिलेपनि प्रदेश सरकार मातहतमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्र उपल्लो तलामा खुम्चिएर बस्नुपर्ने बाध्यतामा रहेको छ । रोल्पा र रुकुम पूर्व हेर्नेगरी स्थापना भएको उक्त कार्यालय उद्घाटन गर्ने भन्दै गत वर्ष ५ नम्बर प्रदेशकी भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेल रोल्पा आएकी थिइन तर कार्यालय स्थापना गर्ने भनेको भवनमा नगरपालिकाका जनप्रतिनिधिदेखि विभिन्न शाखाका कर्मचारीहरुको भरीभराउ देखेपछि मन्त्री पौडेल उद्घाटन नगरी फर्किएकी थिइन् ।
यस्तै शुरुदेखि नै नगरपालिकाको दुर्गम गाउँहरु धबाङ, ह्वामा, जंकोट जस्ता गाउँमा बजेट विनियोजन गर्न छोडेर लिबाङस्थित टुडिखेलमा करोडौं बजेट विनियोजन गर्दै आएका मेयर केसीले गत आर्थिक वर्षमा कोरोनाका कारण बजेट खर्च गर्ने अन्य तौरतरिका नपाएपछि नगरसभामा उपस्थित पत्रकारलाई समेत भत्ता बाडेका थिए । यद्यपि यसअघि उनले ३ वटा नगरसभामा कहिलै पत्रकारलाई भत्ता दिएका थिएनन् । पत्रकारलाई खुसी पार्न उनले कोरोना विमा र ज्याकेट सिलाउन समेत गत आर्थिक वर्षलाई नै साइत पारे ।उनले आफ्नै मातहतमा रही हाल बन्द अवस्थामा रहेको सामुदायिक रेडियो जलजलालाई समेत रकम भुक्तानी गरे । ३ वटा स्थानीय रेडियोलाई छुट्याएको बजेट मध्ये रेडियो जलजलाको भागमा परेको झण्डैं ८० हजार रकम बन्द रेडियोको नाममा भुक्तानी दिएका छन् ।
ससुराको आशिर्बादले मेयर बनेका केसीले हाल जनताको मनजित्ने काम भन्दापनि पानीमाथिको ओभानो बन्ने मात्र काम गरेको उनका सहकर्मी नेकपाका जिल्ला नेताहरुको भनाई छ । ‘जिल्लाका अन्य ८ वटा स्थानीय तहमा पनि नेकपाकै सरकार रहेकोमा केहि स्थानीय तहले विबादमा आएर भएपनि केहि नयाँ काम गर्न खोजिरहेका छन्’ नेकपाका एक जिल्ला नेताले भने ‘तर मेयर केसीले लिबाङका केहि सीमित व्यक्तिको साँठगाठमा लिबाङकेन्द्रीत बजेटलाई प्राथमिकता दिएको देखिन्छ।’