लन्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।
समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशत भन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।
अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भए पनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ ।
यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।
संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।
यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।
यसैबीच विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार भएको छ ।