काठमाडौं । विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन साझा पार्टीले सुझाएको छ ।
शनिबार काठमाडौंमा आायोजित विरोध र्यालीमा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाएका हुन् ।
उनले न्यायालयको सम्मानका लागि महाअभियोग लगाउन उपयुक्त नहुने तर्क गरेका छन् ।
‘न्यायका लागि साझा यात्रा’ नाम दिइएको र्यालीका सहभागीहरुले ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन’, ‘गैरन्यायिक फैसला खारेज गर’, ‘घुसखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौं’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
श्रीमती हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद भोगिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई उन्मुक्ति दिने निर्णयपछि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउनुपर्ने बहस भइरहेको बेला साझा पार्टीले भने राजीनामा दिन सुझाएको छ ।
कोइराला बिहीबार जेलबाट छुटेका थिए । कोइराला र प्रधानन्यायाधीश जुवा खेल्ने साथी भएको समेत खुलेको छ ।