ललितपुर । रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । कोरोना भाइरसको संक्रमणका कारण पटक–पटकको स्थगनपछि रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार भएको हो ।
दैवज्ञ कीर्तिमदन जोशीले दिएको शुभसाइतमा धार्मिक विधि–विधान पूरा गरी दिउँसो रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको थियो ।
यसअघि तबहालमाको एउटा पाटीमा राखिएकोमा रातो मच्छिन्द्रनाथलाई खटमा राखेर ३२ फिट उचाइ रहेको रथमा राखिएको हो । यसपटक कोरोनाका कारण परम्परागत बाजागाजा बजाइएको थिएन ।
सरकारले २० जनाभन्दा बढी भेला नहुने गरी रथारोहण गर्न दिएको निर्देशनको भने पालना भएको थिएन ।
रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताका रूपमा लिइन्छ । १६ सय वर्ष पुरानो यस परम्परा यसअघिका विभिन्न महामारीमा रोकिएको इतिहास नभएको उल्लेख गर्दै रथारोहण गरिएको हो ।
परम्पराअनुसार रथारोहण गराइएको चार दिनभित्रमा रथयात्रा गर्नुपर्ने परम्परा रहेको छ । तर सरकारले सभा–सम्मेलन र पर्व गर्न रोक लगाएकाले अब यसको यकिन टुंगो लागेको छैन ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले भने भदौ १ गतेपछि मात्र धार्मिक विधिपूर्वक रथयात्रा गर्ने निर्णय गरेको छ ।