मोरङ। ‘मुस्कान सहित’को प्रहरीले जनतालाई दुःख दिन थालेपछि ‘प्रहरी मेरो साथी’ भन्ने शब्द उक्तिमा मात्रै सिमित हुन थालेको छ । मंसिरको अन्त्यतिर पथरी इलाका सम्हालेका डिएसपी दिलिपकुमार गिरीले बर्दिको दुरुपयोग गरेको देखिन्छ । गिरी पथरीशनिश्चरे आए यता पथरीशनिश्चरेमा धेरै विबादित बन्दै गएका छन् ।
गएको ८ महिनामा पथरी शनिश्चरेमा भएका गतिविधी र डिएसपीको कमाण्डमा भएको प्रहरीले आम पथरीशनिश्चरेमा त्रास फैलाएको छ ।
गएको ८ महिनामा प्रहरीले सर्वसाधारणलाई कुटपिट गर्नु, ठूला तथा धनाढ्यहरुलाई सपोर्ट गर्दै मजदुरलाई पीडा दिनु, जुवा खेलको पैसा लुकाउनु, पीडितको कुरा नसुनी पिडकको संरक्षण गर्नु जस्ता घटनामा डिएसपी गिरीले सपोर्ट गरेको प्रष्ट देखिएपछि यो बिषय सर्वसाधारणमाझ चर्चाको विषय भएको छ ।
नेपालको कानुन सबैलाई बरावर हो कानुले कसैलाई काखा कसैलाई पाखा नगर्ने भन्दै तथा कानुन भन्दा बाहिर रहेर कुनै कार्य नगर्ने भन्दै आएका डिएसपी गिरी आए यता घटेका र स्थानीयले भोगेका मुख्य घटनाहरु सबैको मुखमुखमा छ।
घटना नम्वर १ कागज पत्र, बील सहितको ट्याक्टरलाई जरिवाना रसिद कटाएर एक हप्ता ईलाकामा राखी बिना कारवाही छोड्नु ।
पुस २१ गते साँझ चिसाङ खोलबाट बालुवा लिएर घर फर्कदै गरेको को २ त ४२६८ नं ट्याक्टरलाई नियन्त्रण लिई चोरीको आरोपमा जिल्ला पठाएको थियो । केही दिन अघि मात्र पथरीको इलाका प्रहरी कार्यालय सम्हालेका डिएसपी गिरीले मोरङ पथरीशनिश्चरेका राजेन्द्र रेग्मीले किनेर ल्याएको बालुवा चोरीको आरोप लगाउँदै जिल्ला समन्वय समितिमा पत्र काटेको भन्दै दुख दिएको रेग्मीले बताएका छन् ।
उनले भने– डिएसपी भनेर के गर्नु कागजात त हेर्न नजान्ने रहेछन् भन्दै इलाका प्रहरी कार्यालय पथरीले अनावश्यक झन्झट दिएको रेग्मीले गुनासो गरेका थिए । २१ गते बेलुकी नियन्त्रणमा लिएको ट्याक्टरको नवीकरण फेल भएकाले नवीकरण गर्न डिएसपी गिरीले पठाएको तर नवीकरण गरेर आउँदा कागज पत्रै नहेरी जिल्ला समन्वय समितिमा जानु भन्दै दुख दिएको बताए । पटक पटक धाउँदा समेत डिएसपीले रसिद सहितको बालुवा चोरीको भन्दै दुख दिए पछि रेग्मी पत्रकारको सहयोग लिन बाध्य भएका थिए ।
घटना नम्बर २ फागुन १२ गते एक थुनुवासँग ५ हजार मागेको समाचार आएपछि पुन प्रहरी कार्यालयमा ल्याएर कुटपिट गर्नु–
फागुन ११ गते घरायसी झगडामा थुनामा परेका जोगबहादुर राईलाई १२ गते मिलापत्र गर्दा ५ हजार लिएको राईले सञ्चारकर्मीलाई बताएका थिए । पथरीशनिश्चरे–३ का जोगबहादुर राईलाई मापसे गरेर घर झगडा गरेको भन्दै एक रात थुनेको र कार्यालयको चौर सफा गर्न लगाइएको थियो । भोलिपल्ट मिलापत्र गर्दा एक बिना बर्दिका प्रहरीले प्रहरी कार्यालयमै ५ हजार लिएको राईले बताएका थिए ।
उक्त घटना विभिन्न सञ्चार माध्यममा आएपछि प्रहरीले फेरि इलाका ल्याएर झुट बोलेको भन्दै २ झापड हानेको थियो । प्रहरीको बिरुद्धमा बोलेको भन्दै घरैबाट ल्याएर पथरीका डिएसपी दिलिपकुमार गिरीकै अगाडि कुटपिट गरेको पीडितले बताएका छन् । डिएसपी गिरीले पैसा माग्ने प्रहरी कुन हो भन्दै देखाउन लगाएका थिए । तर सोहि समयमा केही प्रहरीहरु विदामा र केही प्रहरी सुरक्षामा खटिएका थिए ।
प्रहरीले कुटेपछि डर लागेकोले अब आफुले केहि नबोल्ने बताएका थिए । उक्त विषयमा इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरीसँग बुझ्दा प्रहरीबाट त्यस्तो भएको रहेछ भने पैसा असुल्ने प्रहरीलाई निलम्बन गर्ने बताएका थिए ।
घटना नम्वर ३ वडा नं १० का दिपक लिम्बुको अपहरणकारी फरार–
पथरीशनिश्चरे नगरपालिका–१० मुनाल टोल बस्ने २६ वर्षका दीपक लिम्बुलाई फागुन २७ गते होलिको रातको समयमा पूर्व तयारीको साथमा सोही वडाका यूवाहरुको समुहले सामुहिक रुपमा अपहरण गरी कुटपिट गरेको थियो । मरणासन्न अवस्थामा पुग्ने गरी कुटिएका लिम्बूलाई परिवारले एक हप्तापछि मात्र फेला पारेको थियो ।
परिवारले दीपकलाई गम्भीर अवस्थामा पाएको थियो । दिपकलाई उपचारका लागि विराटनगरस्थित विराट अस्पतालमा लग्यो । केही दिनको उपचारपछि उपचारकै क्रममा दिपकको मृत्यु भयो । दीपकलाई कुट्ने मध्येका एक मुस्कान राईलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यलाई इलाका प्रहरी कार्यालय पथरीले अझै पक्राउ गर्न सकेको छैन ।
घटना नम्वर ४ प्रहरीद्वारा बजारमा निर्घात कुटपिट र ५ सय पटक उठबस–
चैत २१ गते मोरङको पथरीशनिश्चरे ५ का रोहन शाहलाई बिना कारण प्रहरीले चरम यातना दिएको थियो । शाहलाई लकडाउनको समयमा प्रहरीले बजार उठाउँदै गरेको भिडियो खिचेको भन्दै निर्घात कुटपिट गरि उठबस गराएको थियो । घर माथि रहेका शाहलाई प्रहरीले घरमाथि नै गएर जवरजस्ती बाटामा ल्याएर ५ सय पटक उठबस गर्न लाएको शाहले बताएका थिए । पथरीशनिश्चरे नगर क्षेत्रमा प्रहरीबाट पीडित बनेको यो पहिलो घटना भने होइन ।
घटना नं ५ सर्वसाधारणको किटानी दर्ता हुँदैन–
चैत २९ गते पथरीशनिश्चरे ५ का रामकृष्ण महतो र प्रमिला महतोलाई एक समुहले कुटपिट गरी बक्रा खोलाको खरबारीमा फालेको थियो । उर्लाबारी पौडेलचौकका खगेन्द्र भट्टराई र राजेन्द्र थापा सहित ३ जनाको समूहले कुटपिट गरि बेहोस पारी फालेका प्रमिला महतो बताउँछिन् । कुटपिटबाट बेहोस भएका महतोको उपचारका क्रममा भोलिपल्ट होस आएको थियो ।
कुटेको ६ दिन पछि निवेदन किटानी हालेको तर २ महिनाको हस्पिटलमा उपचार गरेर र्फकदा सम्म किटानी दर्ता नभएको पिडित महतोले बताएका थिए । महतो परिवारले प्रहरीबाट न्यायको आस मरेपछि पत्रकारसंग घटनाको जानकारी गराइ न्यायको मागेका थिए । महतो परिवार पत्रकारसंग पुगेको २४ घण्टा नपुग्दै प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरि मिलापत्र गराएको थियो ।
घटना नम्वर ६ प्रहरीकै अगाडि एक मजदुर माथि हातपात हुँदा केही कारबाही नहुनु –
बैशाख ४ गते पथरीशनिश्चरे २ मा रहेको विश्वहाङ राइस मिलमा कार्यरत श्रमीक लक्ष्मी मण्डललाई पथरी उद्योग वाण्ज्यि संघका अध्यक्ष दीपक बस्नेतले दुर्ब्यवहार गरेका थिए । प्रहरी नायव उपरिक्षक दिलिपकुमार गिरी र पथरीशनिश्चरेकी उपमेयर यमुना विष्ट बास्तोलाकै अगाडि ब्यापार संघका अध्यक्ष दिपक बस्नेतले मण्डलमाथि दुरब्यवहार गर्दा प्रहरीले कुनै पनि कारवाही गर्न सकेन उल्टो उक्त स्थानबाट बस्नेतलाई संरक्षण गर्दै प्रहरीले घर लगेको स्थानीयले बताएका थिए ।
घटना नम्वर ७ प्रहरीद्वारा सार्वजनिक स्थानमा निर्घात कुटपिट–
बैशाख ७ गते मलामी गएर फर्किएका एक युवालाई प्रहरीले सार्वजनिक स्थानमा कुटपिट गरेको थियो । मलामी पुगेर फर्किएका एक युवालाई पथरीशनिश्चरेको पुर्व चेकिङमा रहेको प्रहरीले निर्घात कुटपिट गरेको थियो । मलामी गएर मोटरसाइकलमा फर्किएका युवाले प्रहरीलाई हातले साङ्केतिक चिन्ह देखाउदै मनोबल गिराउने कार्य गरेका थिए । उक्त युवाले प्रहरीलाई उतेजित बनाएका कारण प्रहरीले एक किलोमिटर पछ्याएर सार्वजनिक स्थानमा निर्घात कुटपिट गरेको थियो ।
घटना नम्वर ८ तास खेलाडीबाट पक्रीएको ९४ हजार रुपैयाँको १६ हजारको कागज बनाएर छोडिदिनु –
बैशाख २५ गते मोरङको पथरीशनिश्चरे–१, स्थित पथरी बजारमा जुवाको खालबाट १० जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको इप्रका पथरीका डिएसपी दिलिपकुमार गिरीले बताएका थिए । उनीहरुको साथबाट ९४ हजार पक्राउ रुपैयाँ जफत गरिएको थियो । तर, १६ हजारको मात्र कागज बनाएर छोडेको थियो । अन्य रुपैयाँ केहि समय पछि फिर्ता गर्ने सहमति भएको हल्ला चलाए पनि उक्त रकम हालसम्म जुवाको खालमा बसेका कसैले पनि हात पारेका छैनन् ।
घटना नम्वर ९ बाईक र पसल चोरी हुनु –
पथरीशनिश्चरेमा प्रहरीले सुरक्षामा कडाई गरे पनि पथरीबासीले सुरक्षीत महसुस गरेका छैन्न भने छोटो समयमा भएका हत्या हिंसा, प्रहरीको दम्भ, पसल चोरीका घटना, झैभगडा, प्रहरीले घुस लिएका जस्ता घटनाहरुले प्रस्ट पारेको छ । पथरीशनिश्चरेमा एकै दिन एकै समयमा दुई घटना घटेको थियो । पथरीशनिश्चरे ५ र १ मा प्रहरीले एक एक किशोरमाथि सार्वजनिक स्थानमा निर्घात कुटपिट गर्नु, ईलाका, बेश र सशस्त्रको सुरक्षा घेरा भित्रबाटै मोटर वाईकहरु चोरी हुनु लगायत काङग्रेस नेता माथि छुरा प्रहार हुनु पथरीको छोटो समयका उदाहरण हुन् ।
सुरक्षाको हिसावले पथरीशनिश्चरे १ मा डिएसपि सहितको इलाका र बेस क्याम त छ तर पनि प्रहरी र बेस क्याम्प आसपासबाटै मोटरसाईकल र पसलहरु चोरी हुने गरेको छ । इलाका, बेससँगै दुई वटा सशस्त्र प्रहरीको कार्यालय भए पनि पथरीबासीले सुरक्षित महसुस गर्न भने सकेका छैनन् ।
घटना नम्वर १० काङ्ग्रेस नेता तामाङमाथि पथरीमा छुरा प्रहार–
इलाका, बेससँगै दुई वटा सशस्त्र प्रहरीको कार्यालय भए पनि पथरीबासीले सुरक्षित महसुस गर्न भने सकेका छैनन् । चैत २१ गतेको घटना हेर्ने हो भने पथरीशनिश्चरेमा १ का काङ्ग्रेस नेता दिलिप तामाङमाथि छुरा प्रहार भएको थियो । बाटो वन्द गरेको विषयमा विवाद हुदा काङ्ग्रेसका नेता तामाङमाथि स्थानीय बिजय लिम्बुले छुरा प्रहार गरेका थिए । लिम्वूलाई प्रहरीले घटना घटेको १ घण्टामा नियन्त्रणमा लिएको थियो । लिम्बु धरौटीमा छुटेका छन् भने तामाङ्ग उपचार पछि घर फर्कीएका छन् ।
घटना नम्वर ११ प्रहरीले पक्राउ गरेको लोपोन्मुख वन्यजन्तु गायब–
पछिल्लो समय विवादित बन्दै गएको इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको लोपोन्मुख प्रजातिको सुन गोहोरो र टोके –टोके गायव गरेको थियो । घरायसी झगडामा ५ हजार घुस माग्ने देखि प्रहरीको विरुद्ध बोल्दा कुटपिट गर्ने, मलामी गएर फर्किएकालाई सार्वजनिक स्थानमा कुटपिट गर्ने, घरमा बसेका विद्यार्र्थीलाई जवरजस्ती बाटोमा ल्याएर कुटपिट गरि उठबस गराउने लगायतका घटनामा विवादित बनेको इप्रका पथरीले लोपोन्मुख सुन गोहोरो र टोके टोकेका विषयमा फरक फरक कुरा गरेका थिए।
मोरङ्गको पथरीशनिश्चरेमा प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने ४ जना गिरोह र १ जना मोटरसाइकल ग्यारेजका सञ्चालक र कामदारलाई पक्राउ गरेको छ। प्रहरीले असार ३१ गते उनीहरुले चोरी गरेको मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरुवाट लोपोन्मुख प्रजातिका वन्यजन्तु सुन गोहोरो र टोके टोके वरामद गरे पनि त्यसलाई भने प्रहरीले लुकाएको छ ।
घटना नम्वर १२ ईलाका प्रहरी कार्यालयमा बन्दै गरेको भवनका लागि भन्दै बिभिन्न संघ सस्था र ब्यक्तीबाट रकम उठाउनु –
पथरी इलाकाले बनाउदै गरेको भवन इलाकामा बन्ने भवनका लागि नगरले ६ लाख रकम सहयोग गरेको छ । तर प्रहरीले सोहि भवनका लागि विभिन्न संघ सस्थाबाट नगद र जिन्सी सहयोग उठाउँदै आएको छ ।