arrow

प्रचण्डको ढुलमुले स्वभावले नेपाल पक्ष ‘पर्ख र हेर’ को अवस्थामा 

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
kp-prachanda-madhav.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सधै ढुलमुलमा देखिने गरेका छन् । 

उनी कहिले प्रधानमन्त्री केपी शर्मा ओलीतिर त कहिले वरिष्ठ नेता माधव नेपाललाई च्यापेका देखिन्छन् । आन्तरिक विवादमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल आफ्नो अडानमा अडिग रहेपनि अर्का अध्यक्ष  प्रचण्ड भने दुवैतिर आफूलाई अनुकुलतामा ढाल्ने गरेका छन् । 

आन्तरिक विवाद बढ्दै जाँदा प्रचण्डले ओलीको विरोधमा साथ लिएका सहयात्रीहरुलाई धोका दिँदै गत साउन ३ गतेको सचिवालय बैठकमा ओलीलाई साथ दिएपछि सहयात्रीहरुले धोका महशुस गरे । तर बैठकमा ओलीलाई दिएको साथ एकाध घण्टा पनि टिकाउन सकेनन । 

आन्तरिक विवादमा माधव नेपालको बलियो साथ पाएका प्रचण्डले शनिवारको सचिवालय बैठकमा नेपाललाई साथ नदिई ओलीले ल्याएको मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्तावलाई साथ दिएका थिए । 

मंसिरमा महाधिवेशन गर्न सकिदैन भन्ने थाह हुँदा पनि दाहालले ओलीको प्रस्तावलाई साथ दिएको थाहा पाएपछि प्रचण्डले आफूहरुलाई धोका दिएको महशुस नेपाल पक्षले गरेको थियो । 

त्यतिमात्र होइन ओली–प्रचण्ड एक साथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जानु र त्यहाँ पार्टी एकताको समयमा साक्षी बसेका महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि सहभागी हुनुले नेपाल पक्ष झन् संशकित भएको थियो । 

ओलीको  दुवै पदबाट राजिनामा दिन्न बरु अन्य विषयमा छलफल गरौ भन्न अडान अहिले पनि यथावत रहेको छ । माधव नेपालले पनि पार्टी विधि, विधान र पद्धति अनुसार सञ्चालन हुनुपर्छ पार्टीमा एक पद एक जिम्मेवारी हुनुपर्छ भन्ने अडान यथावत रहेको छ । दाहालले नेपालकै अडानलाई टेकेर प्रधानमन्त्री राजिनामा माग्ने  तर सहमतिचाहि अर्ली महाधिवेशनको प्रस्तावमा सहमति जनाएका थिए । 

ओली दाहालको धेरै पटको छलफलमा दाहालले नेपाललाई विफ्रङ गरेपनि पछिल्लो दुई वटा घट्नाक्रम सशंकित बन्दै गएका थिए । चाँडै पार्टी महाधिवेशन गराउने, मन्त्रिपरिषदको पुर्नगठन गराउने तथा केही पदहरु हेरफेर गरेर सहमति गर्ने जस्ता विषयमा दाहाल लचिलो बन्दै गएपछि नेपाल दाहालसँग सशंकित बनेका थिए । तर नेपाल पक्षले आशंका गर्न थालेको र ओलीले पनि एकल अध्यक्ष बनाउने संभावना कम भएको थाह पाएर दाहाल ओली विरोधी क्याम्पकै नेतृत्व गर्न आएपुगेका छन् । 

शुक्रबार र शनिवार नेपाल पक्षको छलफलमा ओलीले कुनै न कुनै रुपमा दुई मध्ये एक पद छाड्नु पर्ने उनको बटमलाइन भएको बताएर दाहालले आश्वस्थ पारेका छन् । माधव नेपाल पक्षले एक पद एक जिम्मेवारीको कुरा उठाँउदा मौन रहेका दाहाल अहिले त्यही ठाउँमा आइपुगेका हुन् । 

ओलीको प्रस्तावमा दाहालले सहमति जनाएपछि सचिवालय बैठकमै नेपालले दुवै अध्यक्षको चोचोमोचो मिलाएर सहमति गरे आफू विधि पद्धतिको विषयमा देशव्यापी कार्यकर्तामाझ जाने बताए पनि त्यसदिन दाहाल टसमस भएका थिएनन । 

तर ओलीसँग कुरा नमिलेपछि भने नेपाल पक्षका नेताहरुलाई बोलाएर आफूले कुनै पनि प्रकारको सहमति नगरेको बताएका थिए । शुक्रबार नेपाल पक्षसँग भएको गोप्य भेलामा दाहालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पद छोडाएरै छाड्ने बताएका थिए । 

सचिवालय सदस्य मध्ये बहुमत सदस्य ओलीको विपक्षमा हुनु, स्थायी कमिटीमा पनि बहुमत ओलीको विपक्षमा हुँदा पनि दाहालले आफ्नो अडानलाई कायम राख्न नसक्दा ओली पक्षले शक्ति संचयको मौका पनि पाएको छ । नेपाल समूहका एक नेताका अनुसार माधव नेपाललाई देखाएर ओलीसँग  ‘पावर शेयरिङको बार्गेनिङ’ गर्ने र लाभ लिने काममा दाहाल लागेपछि पछिल्लो दिनमा अविश्वास बढेको थियो । 

 ‘हामीले शुरु देखिनै विधी विधानको कुरा गरेका थियौँ, पदलाई पहिलो प्राथमिकता दिएनौँ, माधव नेपालले प्रधानमन्त्री वा अध्यक्ष दुवै पद आफूलाई चाहिँदैन भनेर धेरै पटक भन्नुभएको छ, हाम्रो कुरा के हो भने पार्टीभित्र विधि र पद्धति हुन्छ त्यस अन्तर्गत आएको एक जिम्मेवारी एक व्यक्तिको विषय अहिले पनि अडानकै रुपमा छ दाँया बायाँ भएको छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने ।  

उनका अनुसार माधव नेपालको अडानको बारेमा ओली पक्ष क्लियर छ । उनीहरु माधव नेपालले राखेका विषयमा भन्दा पनि दाहाललाई फकाएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद कायम राख्ने र माधव नेपाल पक्षलाई कर्नर पार्न खोजिरहेका छन् । अहिले पनि त्यही गर्न खोजेको आभाष हुन्छ । 

ओली समूहका नेताहरुले दाहाललाई नै मिलाउने क्रममा अर्ली महाधिवेशन गर्ने र एकल अध्यक्ष दिने बताइरहेका बेला दाहालले सचिवालयको बैठकमा महाधिवेशन गर्ने प्रस्तावको समर्थन गरेका हुन् । तर लामो समय नेपाल पक्षको साथ पाएका दाहालले आफू परिवन्दमा परेको भन्दै महाधिवेशनको प्रस्ताव आफ्नो नभएको दावी गर्नु जस्ता कुराले उनी अस्थिर पात्र हुन् भन्ने प्रष्ट हुँदै गएको छ । 

गत १५ बैशाख २०७७ मा वरिष्ठ नेता नेपाललाई पनि ओलीले ‘अर्ली महाधिवेशन’ कै प्रस्ताव गरेर अध्यक्ष बनाउने बताएका थिए तर माधव नेपालले त्यो विषय अस्वीकार गरे । त्यही प्रस्ताव ओलीले ३१ असार २०७७ को ‘वान टु वान’ छलफलमा दाहाल समक्ष राखे । बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न नसक्ने भन्दै ‘ मंसिरमा अर्ली महाधिवेशन’ बाट अध्यक्ष पद लिन भनेपछि दाहाल फेरिए । 

गत शनिबारको सचिवालय बैठकमा दुवै अध्यक्षको तर्फबाट आएको प्रस्ताव भन्दै प्रस्तुत गरिएको थियो । विवादको उत्कर्षकै बीचमा शनिबार भएको नेकपा सचिवालयमा २० बैशाख २०७७ को प्रस्ताव आएपछि ओलीसँग दाहाल सहमत भए । 

यसलाई नेपाल समूहले दाहाल आफ्नो अडानमा अडिग रहन नसक्ने नेताको रुपमा चित्रण गरेको थियो । माधव नेपाल पक्षका नेताहरुले दाहाल भरलाग्दा नेता नभएको भन्दै तत्कालका लागि दाहालको गतिविधिलाई ‘पर्ख र हेर’को अवस्थामा राखेका छन् ।



लोकप्रिय समाचार
नयाँ