काठमाडौं । श्रीमतीको हत्याका दोषी सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दा पेशीमा चढेको छ। सरकारी वकिलको कार्यालयले दर्ता गरेको पुनरावलोकन निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफ्नै इजलासले गरेको फैसलाबारे तीन जनाको पूर्ण इजलाशमा तोकेका छन् ।
जबराले न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलाश गठन गरेका हुन् । उक्त इजलाशले मुद्दा फेरि अगाडि बढ्ने गरी निस्सा पाउने कि नपाउने भन्ने निर्णय गर्नेछ । निर्णय हुनका लागि बहस हुने छैन । न्यायाधीशहरुले आन्तरिक रुपमा बसेर यसमा निर्णय गर्ने छन् ।
प्रधानन्यायाधीश जबराले पूर्ण इजलाश गठन हुने अर्को दिनमा पेशी तोक्ने तयारी गरेको निवेदनमा शनिबार सार्वजनिक बिदाको दिन नै काम गराई आइतबार बिहान मात्र तीन न्यायाधीशको इजलाश तोकेका थिए ।
उक्त मुद्दामाथि अहिले सडकमा समेत बहस हुन थालेकाले निस्सा दिएर सुनुवाई अगाडि बढाउने पक्षमा जबरा स्वयं पुगेपछि पेशी तोकिएको हो ।
आइतबार सर्वोच्चले पुनरावलोकन अनुमति दिएमा यो मुद्दा थप सुनुवाईको प्रक्रियामा जाने छ। उक्त अवस्थामा सर्वोच्चले राणासहित न्यायाधीश तेजबहादुर केसीको इजलाशले गरेको फैसला जाँच्ने छ। सो क्रममा राणासहितको इजलाशले गरेको फैसला गलत ठहर गरेमा कोइरालालाई थप सजाय हुने छ।
गत असार १५ गते जबरा सहितको इजलाशले कोइरालाको सजाय घटाउने फैसला सुनाएको थियो । सर्वोच्चले सर्वस्वसहित जन्मकैदको सजाय जिल्ला र उच्च अदातलको फैसलालाई जन्मकैदमा परिर्वतन गरेको थियो ।
२० वर्ष हुने सजायलाई सर्वोच्चले ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको यो फैसलापछि उनी रिहा भएका थिए।
२०६८ पुस २७ गते रञ्जनले श्रीमती गीता ढकालको हत्या गरेका थिए। जिल्ला अदालत काठमाडौंले २०७१ बैशाख ७ गते रञ्जनलाई हत्यारा ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। उनी डिल्लीबजार कारागारमा जेल सजाय काटिरहेका थिए।
प्रधानन्यायाधिश चोलेन्द्र शमशेर र रञ्जन कोइराला जुवा खेल्ने साथी