arrow

चार संक्रमितको अवस्था जटिल, एक वृद्धको मृत्यु

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
covid-test-positive-corona.jpg

वीरगञ्ज । नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना  संक्रमितमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । चारै जनालाई सघन उपचार कक्षमा अक्सिजन दिएर राखिएको भए पनि अवस्था जटिल र गम्भीर रहेको डा सिंहले जानकारी दिएका छन् ।  सो अस्पतालमा हाल ५४ जना संक्रमित उपचार गराइरहेका छन् । 

वीरगञ्ज महानगरपालिका– १० आदर्शनगरमा रहेका एक ६५ वर्षीय वृद्धको आइतबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको आशङ्का गरिएको छ । ती वृद्धको गण्डक अस्थायी कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएको डा नीरजकुमार सिंहले बताए ।

मृत्यु भएका ती वृद्धको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको र पछि थप उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । 

शनिबार राति ८ बजे आरडिटी पोजेटिभ आएपछि कोरोनाको शङ्कास्पद बिरामीका रुपमा गण्डक अस्थायी कोभिड अस्पतालमा लगी उपचार शुरु गरिएको अर्का डा उदयनारायण सिंहले बताए ।

शनिबार नै नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती वृद्धको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिसकिएको थियो । हालसम्म रिपोर्ट आएको छैन । मृत्यु भएका ती वृद्ध आदर्शनगरका व्यापारी रहेका र मुटु तथा मधुमेह रोगका बिरामी रहेको उपचारमा संलग्न चिकित्सक डा नीरजकुमार सिंहले बताए । मृत्यु भएका वृद्ध भारतीय नागरिक हुन् । वृद्धको शवलाई अस्पतालमामै राखिएको छ । साँझसम्म पिसिआर परीक्षणको रिपोर्ट आइसक्ने चिकित्सकले जनाएका छन् ।
 
यसअघि गत शुक्रबार आरडिटी पोजेटिभ भएकी एक १७ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मरणोपरान्त पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।पर्सामा हाल  कोरोना संक्रमितबाट सात जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । कोरोना पोजेटिभबाट बारामा तीन र पर्साका तीन जना छन् भने वीरगञ्जमा बेवारिसे भेटिएका एक कोरोना संक्रमितको भने पहिचान हुन सकेको छैन । 

यसैबीच लकडाउन खुकुलो भएपछि वीरगञ्ज बजारमा मानिसको अत्यधिक भीड हुन थालेकाले कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।  



लोकप्रिय समाचार
नयाँ