काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले कसैको प्रभावमा नपरी निष्पक्ष भएर काम गरिरहेको बताएका छन्।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले विदेशी बैंकमा रहेको भनिएको रकमको विषय दुई देशीय सहमतिमा मात्रै छानबिन हुन सक्ने स्पष्ट पार्दै भने, “सेक्युरिटी प्रेस खरिदको विषयमा आयोगले छानबिन गरिरहेको छ ।”
तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनीक भएको थियो। स्वीस कम्पनीको एजेण्ट विजय मिश्र र सञ्चारमन्त्रीबीचको संवादमा बास्कोटाले रु ७० करोड कमिसन माग गरेका थिए ।
उनले सबैको सहयोगमा भ्रष्टाचार नियन्त्रणका लागि आयोगलाई अझै बलियो बनाएर लैजानुको विकल्प नभएको बताए । प्रमुख आयुक्त घिमिरेले नीतिगत र संस्थागत रूपमा विकास हुँदै गइरहेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको समन्वयात्मक र एकीकृत पहल आवश्यक रहेको उल्लेख गरे ।
उनले भ्रष्टाचार निवारणका लागि पद्धति र नीति मुख्यरूपमा रहेको भन्दै भ्रष्टाचार न्यूनीकरणका लागि कानून नै बलियो रूपमा आउनुपर्ने र संसद्मा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनमार्फत आयोगलाई अझै बलियो बनाइनु पर्ने उल्लेख गरे ।
आयुक्तद्वय डा गणेशराज जोशी र डा सावित्री गुरुङले आयोगले भ्रष्टाचारबाहेक अरू विषय नहेर्ने भएकाले नीतिगत रूपमा हुने भ्रष्टाचारदेखि सबै विषय समाधान गर्न अख्तियारलाई बलियो बनाउन आवश्यक रहेको बताए ।
बैठकमा सांसदहरुले भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएको भनिए पनि दिनानुदिन बढिरहेको, नीतिगतरूपमा भ्रष्टाचार हुने गरेको, पहुँचवाला र ठूलो रकम हिनामिना गर्ने भ्रष्टाचारीलाई अनुसन्धानकै दायरामा ल्याउन नसकेको भनी आयोगका पदाधिकारीको गम्भीर ध्यानाकर्षण गराए ।
संस्थागतरूपमा नै विकास भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कानूनको आवश्यकता औल्याउँदै उनीहरुले आयोगलाई राजनीतिबाट मुक्त गरी स्वतन्त्र र निष्पक्ष बनाइनुपर्ने सुझाव दिएका थिए।