काठमाडौं । माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित फेला परेका थिए । चैत ११ गतेसम्म आइपुग्दा त्यो संख्या २ पुगेको थियो । र पनि सरकारले लकडाउन लगायो । त्यसपछि मानिस उकुसमुकुस हुन थाले घरमा बस्दा बस्दा । बाहिर निस्कन थाले लुखुरलुखुर ।
तिनै लुखुरेले त्रास बढाए । त्योभन्दा बढी त्रास अहिले सुरक्षाकर्मीले बढाएका छन् । तीन सयको हाराहारीमा सुरक्षाकर्मीलाई कोरोना भाइरस लागिसकेको छ ।
सुरक्षाकर्मीलाई सडकमा देख्दा नै स्पष्ट हुन्छ उनीहरुको लापरवाही । उनीहरुकै मुखमा मास्क हुँदैन । उनीहरु नै समूह र झुण्डमा गफिएर बसिरहेका हुन्छन् ।
माइतीघर मण्डलामा दैनिकजसो केही न केही विरोधका कार्यक्रम हुन्छन् । त्यहाँ खटिने सुरक्षाकर्मी धेरैजसोले त मास्क लगाएका हुन्छन् तर सबैले लगाएका हुन्नन् । अनि आफै गफिइरहेका हुन्छन् ।
ट्राफिकतर्फ पनि केहीले मास्क लगाइरहेका हुँदैनन् । दुई जना आफूहरु भेटिए कि गफिन थाल्छन् । हो, पहिलो लाइनमा स्वास्थ्यकर्मी, दोस्रो लाइनमा सुरक्षाकर्मी र तेस्रो लाइनमा संचारकर्मीलाई कोरोनाको जोखिम छ ।
तर आफूले अपनाउनु पर्ने नियम पालना नगरेपछि समस्या त हुने नै भयो । त्यसको निदान गर्न जरुरी छ ।
जबसम्म सुरक्षाकर्मीले मास्क लगाउँदैनन् तबसम्म उनीहरुसंग नागरिकलाई मास्क अनिवार्य नलगाए नियन्त्रणमा लिने अधिकार छैन ।
सुरक्षाकर्मी सजग हुने हो भने पक्कै पनि धेरै कुराको समाधान हुन्छ । काठमाडौं उपत्यकामै दैनिक हजारौंको संख्यामा मास्क नलगाइ हिँड्नेहरु छन् ।
सरकारकै अधिकारीहरु मास्क लगाउँदैनन् । नेता कार्यकर्ता मास्क लगाउँदैनन् । लगाए भने पनि थोरै समय लगाउँछन् ।
गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई दुई पटक निर्देशन दिइसकेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले दोस्रो पटक आइतबार (साउन ११ गते) सो निर्देशन दिएको हो ।
गृहले पहिलो पटक गत असार २२ गते गरेको आदेश कार्यान्वयन नभएको भन्दै आइतबार दोस्रो पटक मास्क प्रयोग नगर्नेमाथि कडा रुपमा प्रस्तुत हुन ७७ वटै जिल्ला प्रशासन कार्यालयसहित प्रहरीलाई निर्देशनात्मक परिपत्र गरेको हो ।
पत्रमा मास्क नलगाई अटेर गरेर जथाभावी रुपमा सडकमा निस्किए पक्राउ गर्न भनिएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि गरिएको परिपत्रलाई नै कडाइका साथ लागु गर्न भनिएको हो ।
केही जिल्लाहरुमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिबाना लिएर छाड्ने गरिएको छ । तर प्रहरीले सोचेन सय रुपैयाँभन्दा महत्वपूर्ण मास्क हो ।
मास्क नलगाउनुको कारण पनि खोतल्नु जरुरी छ । कामधाम नभएकाहरुले मास्क नलगाउन पनि सक्छन् । नभएर नलगाएको हो भने सरकारको दायित्व हो मास्क उपलब्ध गराउने ।
१० अर्ब पचाएको सरकारले त्यसपछि कति पचायो लेखाजोखा छैन । सडकमा उत्रेका हजारौं युवाको भावना कुल्चिएको छ । ‘इनफ इज इनफ’ अभियानका युवाहरुको ज्यान जोखिममा छ ।
मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइन मिल्ने कानुन छ । तर देशमा स्वास्थ्य संकटकाल नलगाउने सरकारविरुद्ध कुनै कार्वाही छैन ?
२ जना संक्रमित हुँदा देश ठप्प पार्नेले अहिले दैनिक डेढ सयको हाराहारीमा संक्रमित थपिँदा पनि किन वास्ता गर्दैन ?
लकडाउन अन्त्य भएसँगै देशका विभिन्न स्थानमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । वीरगन्जसहित केही स्थानमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएपछि स्थानीय प्रशसनमार्फत निषेधाज्ञा नै जारी गरिएको छ ।
संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी जनस्तरबाट मात्र हैन माथिल्लो तहबाटै लापरवाही बढेको छ । यसले नै जोखिम निम्त्याएको छ ।
गृहले आम सर्वसाधारणमा जरुरी काम बाहेक घरबाहिर ननिस्कन, निस्कँदा अनिवार्य मास्क लगाउन तथा एक अर्काबीच कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्न पटक पटक आग्रह गर्दै आइरहेको छ ।
सरकारले लकडाउन खोल्यो । एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न पाइँदैन । तर यो भनाईमा मात्र हो । तपाईले चाहनु भयो भने देशको जुृनसुकै कुनामा पुग्न सक्नुहुन्छ । रोक्ने को ?
रोकिने भए त भारतबाट धमाधम काठमाडौं छिर्नेलाई रोक्न सकिन्थ्यो नि । जस्तो कि भारतको विहारबाट आएका एक परिवारका पाँचै जनामा कोरोना पुष्टि भएको छ। उनीहरुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो ।
अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो । परिवारका दम्पत्ति, छोरा–छोरी र नातिनीमा कोरोना देखिएको हो ।
१५–२० दिन अगाडि मात्र छोरी र नातिनी विहारबाट काठमाडौं आएका थिए । उनीहरु महाबौद्ध काठमाडौंमा पसल व्यवसाय गर्नेहरु रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले बताए ।
उनले कोरोनाको संक्रमण नरोकिएको भन्दै लकडाउन खुल्नुलाई गलत अर्थले बुझिएको बताउँछन् ।
काठमाडौं उपत्यकामा दैनिक ४ देखि १० जनामा कोरोना पुष्टि भएको छ। केही सातादेखि यता काठमाडौंमा दैनिक भारत तथा तराइबाट आएकाहरुमा संक्रमण पुष्टि भएको छ ।
अचम्म त के भने एक जिल्लाबाट अर्को जिल्लामा सवारी चलाउन मनाही छ । तर भारतबाट आउनेहरु अनुमति लिएर आउने हुनाले उनीहरुलाई रोक्न नसकिएको सुरक्षाकर्मी र चिकित्सकको भनाई छ ।
अनुमति दिने को ? अनुमति दिनेले कुनै परीक्षण गरेर पठायो कि पठाएन । देशकै एक कुनाबाट अर्को कुनामा जाँदा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने अनि काठमाडौं चाहिं जसलाई पनि सजिलै छिर्न दिने ?
अहिले मास्कको फन्डा निकालिएको छ । यसको अनुगमन भएको छ ? समस्या नै खोज्न नसक्नेले समाधान कसरी खोज्छन् ?
दैनिक जसो कोरोनाबाट संक्रमितको ज्यान गइरहेको छ । ४६ जना पुगिसकेका छन् । १८ हजार ६१३ जना संक्रमित भइसकेका छन् ।
यो तथ्यांक देख्दा पनि सरकारलाई डर लाग्दैन ? के यो तथ्यांक सामान्य हो ? मास्क, सेनिटाइजर जसको पहुँचमा छैन उसलाई दिउँ । अनिवार्य अनुगमन गरौं । सडकमा जस्तोसुकै व्यक्तिले पनि मास्क नलगाउँदा उसलाई ठाउँको ठाउँ कार्वाही गरौं ।
पैसा लिएर कार्वाहीलाई फितलो नबनाऔं ।