arrow

जसपामा भद्रगोल, एकिकरणको ३ महिनापछि पनि संयुक्त बैठक अझै बसेन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १२ सोमबार
janata-samajwadi-party.jpg

काठमाडौं। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीवीच एकीकरण भएको ३ महिना पूरा भएको छ तर एकीकृत पार्टी जनता समाजवादीको संयुक्त बैठक अझै बस्न सकेको छैन। एकीकरण पछि पार्टी भद्रगोल अवस्थामा पुगेको छ। तत्कालिन दुइ पार्टीका नेताहरु अहिले पनि अलग अलग पार्टी झै छुट्टाछुट्टै बैठक र छलफल गर्ने गरेका छन्।

जसपाले निर्वाचन आयोगमा ५१ सदस्यीय कार्यकारिणी समितिको नामावली बुझाएको छ। आयोगले असार २८ गते जसपालाई पार्टी दर्ता भएको प्रमाणपत्र दिएको पनि १५ दिन पूरा भएको छ। यो विचमा न त तत्कालिन दुई पार्टीको संयुक्त बैठक बस्न सकेको छ न त कार्यकारिणी समितिको बैठक बस्न सकेको छ। तत्कालिन दुई पार्टीका शिर्ष नेताहरू बेला बेलामा अनौपचारिक बैठक गर्ने गरेका छन्। तर संयुक्त रुपमा औपचारिक बैठक भने अझै बस्न सकेको छैन।

औपचारिक बैठक बोलाउन र पार्टीको संगठनात्मक संरचना बनाउन पार्टीका तल्लो तहका कार्यकर्ताहरुले पार्टीका शिर्ष नेताहरुलाई दबाब दिइरेका छन्। ‘अहिलेसम्म जसपाको संयुक्त बैठक एक पटक पनि बस्न सकेको छैन’ तत्कालिन जसपाका केन्द्रीय सदस्य सवर प्रजापतिले भने,‘संयुक्त बैठक बोलाउन र संरचना तयार गर्न हामीले नेतृत्वलाई दबाब दिइरहेका छौं। तर हाम्रो कुरा सुनुवाइ भएको छैन।’

जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले अझै पनि पार्टीमा सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, प्रवक्ता लगायतका पदाधिकारी मनोयन गर्न सकेका छैनन्। यसैगरी १ सय ५१ सदस्यीय राजनीतिक समिति र ६ सय ५१ सदस्यीय केन्द्रीय समिति मनोनयन गर्न बाँकी नै छ। कार्यकारिणी समितिमा नअटाएका व्यक्तिहरुलाई राजनीतिक समितिमा र राजनीतिक समितिमा नअटाएका केन्द्रीय समितिमा राख्ने आश्वासन ठाकुर र यादवले दिएका छन्। त्यसैले पनि पार्टीका दोश्रो तहका नेताहरुले तत्काल राजनीतिक समिति र केन्द्रीय समिति मनोनयन गर्न दबाब दिइरहेका छन। तर पार्टीका शिर्ष नेताहरुले यस विषयमा छलफल भइरहेको मात्र जवाफ दिने गरेका छन्।

सुरुदेखि नै असन्तुष्ट जनाएका राजकिशोर यादव र अनिल झालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ठाकुर र यादवलाई छ। यसैगरी पार्टी गठन हुँदा बाबुराम भट्टराईलाई राष्ट्रिय परिषद्को अध्यक्षको जिम्मेवारी दिने अनौपचारिक सहमति थियो। यस बारेमा ठाकुर र यादवले अझै निर्णय गर्न सकेका छैनन।

यसैगरी नवगठित समाजवादीमा संसदीय दलको नेता कसलाई बनाउने भन्ने अर्को समस्या थपिएको छ। राजेन्द्र महतोले सुरु देखि नै संसदीय दलको नेतामा चाहना राखेका छन्। पार्टी एकीकरणमा महतोले अग्रणी भुमिका निभाएका थिए। यसकारण पनि आफूले संसदीय दलको नेता पाउनेमा उनी ढुक्क छन्। संसदीय दलको नेता हुन अध्यक्ष यादव स्वयंले पनि चाहेका छन्। 

कसलाई महासचिव बनाउने र कति संख्यामा महासचिव पद राख्ने भन्नेमा अझै टुंगो लागेको छैन। तत्कालिन राजपा र समाजवादीका महासचिवहरुले एकीकृत पार्टीको महासचिव पद पाउने आशा राखेका छन्। यी सबै विषयमा टुंगो लगाउन आन्तरिक छलफल र संवाद भइरहेको अध्यक्ष यादवले बताए।

गत बैशाख १० गते राती हतारहतारमा तत्कालिन राजपा र समाजवादीका नेताहरुले वार्ता गरी दुई पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेका थिए। पार्टी गठन गर्ने सहमति हुँदा खाली एकीकृत पार्टीको नाम र महन्थ ठाकुरलाई पहिलो अध्यक्ष स्विकार गर्ने निर्णय बाहेक बाहेक अरु कुनै विषयमा सहमति भएको थिएन। त्यसपछि पार्टी भित्रको संगठनात्मक संरचना, घोषण पत्र, विधान, लगायतका विषयमा सहमति जुटाउन पार्टीका नेताहरुलाई हम्मेहम्मे परिरहेको छ।



लोकप्रिय समाचार
नयाँ