सप्तरी । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा रहेको बताएका छन्। कोरोना संक्रमणको अवस्था र रोकथाम एवं नियन्त्रणको तयारी बुझ्न यहाँ आउनुभएका मुख्यमन्त्री राउतले कोरोनाको उच्च जोखिममा रहेको प्रदेश नं २ मा संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
राजविराज नगरपालिकामा सोमबार आयोजित सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई थाँती राखेर जनताको जीवन जोगाउने कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । उनले भने, “विकास निर्माणभन्दा जनताको जीवन जोगाउनु आवश्यक छ, यसका लागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ ।”
सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै पिसिआर परीक्षणको दायरा बढाउनका लागि थप मेसिन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याए । स्वास्थ्यकर्मीलाई पिपिइ, मास्क, पञ्जा, स्यानिटाइजर, औषधीलगायतको अभाव हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न रु एक करोड उपलब्ध गराउने घोषणा गरे ।
न्यून स्रोतसाधनका बीच कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवं कर्मचारीले निभाएको भूमिकाको उनले प्रशंसा गरे । सोही क्रममा जिल्लामा नदी कटान एवं डुबानको समस्याबारे चर्चा गर्दै मुख्यमन्त्री राउतले बलान नदी नियन्त्रणका लागि तत्काल बजेट उपलब्ध गराउने घोषणा गरे । दीर्घकालीनरुपमा नदीजन्य एवं डुबानको समस्या समाधानका लागि बृहत् योजना बनाएर अगाडि बढ्न सुझाव दिनुहुँदै मुख्यमन्त्री राउतले भने, “मास्टर प्लान बनाएर ल्याउनुस्, हामीले बजेटको व्यवस्थापन गर्छौं, थप बजेट आवश्यक परे सङ्घीय सरकारलगायत दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्छौँ ।”
कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफ्नो गृहजिल्ला रहेको सप्तरीमा कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लामा कुनै पनि उपकरण वा अन्य सामग्रीको अभाव हुन नदिन आफुू सचेत रहेको र आवश्यक परेका बेला माग गर्न उनले मातहतका निकायलाई निर्देशन दिनुभयो ।
त्यसअघि गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झा र स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले भिटिएमलगायत साधनस्रोत र जनशक्तिको अभावमा काम गर्नु परेकाले समस्या समाधानका लागि माग गरेका थिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेकपाका प्रदेश सदस्य सुखराम यादव, नेपाली काँग्रेसका जिल्ला सभापति दिनेशकुमार यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलगायतले जिल्लाको अवस्थाबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए।