काठमाडौं। कोभिड-१९, कोरोना भाइरस महामारीले विकराल रूप लिँदै गर्दा सरकारका कदमहरू अपर्याप्त भएपछि सरकारको ध्यानाकर्षणका निम्ति ‘इनफ इज इनफ’ अभियानका अभियन्ताद्वय ई: र पुकार बमको १२ दिनको आमरण अनसनपछि सरकारसँग असार २३ गते भएको १२ बुँदे सम्झौता कार्यान्वयन गराउन फेरि अभियानका अभियन्ताहरु आमरण अनशन बसेको १० दिन भइसकेको छ । सरकारले एक हप्तामा पूरा गर्ने भनिएको मागहरू तीन हप्ता हुँदै गर्दा पनि पूरा नगरिएपछि सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै तथा सहमति कार्यान्वयनको माग गर्दै अभियन्ताहरु फेरि आमरण अनशनमा बसेका छन् ।
सम्झौता गरेर पनि माग पूरा नगरेपछि सरकारलाई थप दवाव दिन अभियन्ता ई: र समाइरा श्रेष्ठले वसन्तपुर दरबार क्षेत्रमा २०७७ श्रावण ३ गतेबाट सुरु गरेको पानी र खाना बिनाको सत्याग्रहको आज दसौं दिन भइसकेको छ। सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल भने बिकसित देशले भन्दा राम्रो काम गरेपनि सरकारका कामप्रति प्रश्न उठाउनेहरुको आखाँमा मोतिविन्दु भएको आरोप लगाएर बसेका छन्।
जिम्मेवार बन्नुपर्ने सरकार गैरजिम्मेवार बनेपछि नागरिक अगुवा तथा राजनीतिककर्मीहरुले अभियानप्रति ऐक्यबद्धता जनाएका छन्। सोह्र जना नागरिक अगुवा तथा राजनीतिककर्मीहरुले ‘इनफ इज इनफ’ अभियानले अघि सारेका मागहरूप्रति ऐक्यबद्धता जनाएका हुन्। कोभिड-१९ को परीक्षणको दायरा बढाउन, बन्दाबन्दीकै बीच घटित ठूलाठूला अनियमितता एवं भ्रष्टाचारमा संलग्नहरूलाई कारवाही गर्न तथा नेपाली नागरिकहरूको सम्मानपूर्वक जीवनयापन गर्न पाउने हकको सुरक्षा गर्न सरकार गम्भीर बन्न उनीहरुले बताएका छन्।
आफैले हस्ताक्षर गरेर स्वीकार गरेका मागहरू यथाशीघ्र पूरा गरी अनशनकारीहरूको जीवन रक्षा गर्न उनीहरुले सरकार समक्ष माग गरेका छन्। सरकारको असक्षमता र सम्झौता गर्ने, कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण कुनै अप्रिय स्थिति उत्पन्न हुनपुगेमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंको नै रहने चेतावनी समेत उनीहरुले दिएका छन्।
अभियानप्रति ऐक्यबद्धता जनाउनेहरुमा अजीता राई, कन्चन झा, डा. प्रेम सिंह बस्न्यात, रमेश खरेल, आशुतोष तिवारी, जयन्त चन्द, बालकृष्ण न्यौपाने, शरद राज पाठक,ओमप्रकाश अर्याल, डा. दिनेश प्रसाईं, बिराज बहादुर बिष्ट, डा. सुरेन्द्र भण्डारी, एन. पी. साउद, प्रदिप परियार, मिन बहादुर भाम र हिसिला यमी छन्।