दार्चुला । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ३ सल्लेखेतीमा पहिरोले घर पुरिदा दुई जना बेपत्ता छन् । सोमवारदेखि भइरहेको अविरल वर्षाका कारण मंगलबार बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिदा स्थानिय ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीय श्रीमती इन्द्रा जोशी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
घरमै रहेका २१ वर्षीय सुनिल भने भाग्न सफल भएका छन् । दार्चुला तिंकर सडक भाँसिदा घरमाथि पहिरो आएको प्रहरी निरीक्षक जोशीले बताए ।
यस्तै पहिरोमा परी जोशीका एक भैसी तथा चार बाख्रा पनि पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी चौकी ब्रह्मदेवबाट टोली खटिएको बताए ।
निरन्तरको वर्षाका कारण उद्धार गर्न समस्या भइरहेको जनाइएको छ ।