काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिँदै गइरहेको अवस्थामा सरकारले चालेको कदम अपुग भएको भन्दै दोस्रो चरणको सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ को आन्दोलनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको छ ।
संसददेखि सडकबाट कांग्रेसले कोरोना परीक्षण र व्यवस्थापनमा सरकार कमजोर देखिएको आरोप लगाउँदै थप सशक्त बन्न गत चैतदेखि नै सरकारलाई झक्झकाउँदै आएको छ ।
उक्त सन्दर्भमा ‘इनफ इज इनफ’ समूहले स्वतस्फूर्त रुपले पहिलो चरणको आमरण अनसन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफै अस्पताल पुगेर अनसन छाडेर सहयोग गर्न अपिल गरेपछि सोही अनुसारको सम्झौता भएपछि उनीहरुले सत्याग्रह त्यागेका थिए ।
तर सरकारले सम्झौतामा कुनै चासो नदेखाएपछि वाध्य भएर फेरि सत्याग्रहमा बसेका छन् । विगत ११ दिनदेखि जारी सत्याग्रहमा कांग्रेसले ऐक्यवद्धता जनाएको हो । सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरु बसन्तपुर पुगेर सत्याग्रहमा ऐक्यवद्धता जनाएका थिए ।
उनले कांग्रेसले सुरुदेखि नै कोरोनामा सरकारलाई ध्यान दिन आग्रह गर्दागर्दै पनि बेवास्ता गरेको आरोप लगाउँदै इनफ इज इनफको सत्याग्रहमा ऐक्यवद्धता जनाएको बताए । आफूहरुको मागमा इनफको पनि विचार मिलेको भन्दै सरकारलाई इनफका सम्पूर्ण माग पूरा गर्न पनि आग्रह गरेका छन् ।
मंगलबार पुग्दै कांग्रेस नेताहरु
इनफ इज इनफको आन्दोलनमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका थप नेताहरु मंगलबार बसन्तपुर पुग्दैछन् ।
कांग्रेस नेता तथा पूर्व मन्त्री उदयशमशेर जबराका अनुसार जबरासहित पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य नविन्द्रराज जोशीसहितका नेता तथा कार्यकर्ताहरु बसन्तपुर जाँदैछन् ।
दिउँसो २ बजे कांग्रेस नेताहरु ऐक्यवद्धता जनाउन बसन्तपुर पुग्दै गरेका हुन् ।
कोभिड १९ रोकथाममा सरकारका कदमहरू अपर्याप्त भएपछि सरकारको ध्यानाकर्षणका निम्ति ‘इनफ इज इनफ’ अभियानका अभियन्ताद्वय ईः र पुकार बमको १२ दिनको आमरण अनसनपछि सरकारसँग असार २३ गते भएको १२ बुँदे सम्झौता कार्यान्वयन गराउन फेरि अभियानका अभियन्ताहरु सत्याग्रहमा बसेको ११ दिन भइसकेको छ ।
सरकारले एक हप्तामा पूरा गर्ने भनिएको मागहरू तीन हप्ता हुँदै गर्दा पनि पूरा नगरिएपछि सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै तथा सहमति कार्यान्वयनको माग गर्दै अभियन्ताहरु फेरि आमरण अनशनमा बसेका हुन् ।
सम्झौता गरेर पनि माग पूरा नगरेपछि सरकारलाई थप दवाव दिन अभियन्ता ईः र समाइरा श्रेष्ठले वसन्तपुर दरबार क्षेत्रमा २०७७ साउन ३ गतेबाट सुरु गरेको पानी र खाना बिनाको सत्याग्रह हो ।