arrow

रोजेर मन्त्री बन्न भीम रावललाई ओलीको प्रस्ताव  

logo
प्रकाशित २०७७ साउन १३ मंगलबार
Bhim-Rawal.jpg.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई बालुवाटार बोलाएर फकाउने कोसिस गरेका छन् ।

प्रधानमन्त्री ओलीले साउन लागेयता दोस्रो तहका नेताहरुलाई भेटघाट गर्नेक्रममा भीम रावलसँग दुई पटक भेट गरी रोजेर मन्त्रालय लिन र उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । उनले साउन महिनामै दुई पटक बालुवाटार बोलाएर रावललाई फकाएका हुन् ।

तर रावलले आफू मन्त्री पद आउन कसैको विरोध नगरेको भई पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्ने विषय उठाएको र आफू अहिलेको मन्त्रीपरिषदमा सहभागी नहुनेसमेत जवाफ दिएका थिए । 

‘तपाईलाई जुन मन्त्रालय लिन चाहनुहुन्छ त्यही लिनुस् उपप्रधानमन्त्री बन्नुस्’, ओलीको भनाई उधृत गर्दै स्रोतले भन्यो तर रावलले त्यसलाई अस्वीकार गरी अन्य सहयोग लिनुस् तर म मन्त्री बन्नचाहिँ आउँदिन भनेका थिए ।  

पार्टीभित्र प्रधानमन्त्री केपी ओलीको विरोध गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रभावशाली नेता रावललाई बालुवाटामा बोलाएको विषयले बाहिर त्यति चर्चा भने पाएन ।

आफ्नै पार्टीभित्रका नेता रावलको नाम सुन्ने बित्तिकै टाउको दुखाउने लेखराज भट्टलाई मन्त्री बनाएर रावललाई काउण्टर दिएका ओलीले साउन महिनामा दुई पटक रावललाई बोलाएर बालुवाटारमा भेटघाट गरेका स्रोतले जनाएको छ ।  

रावलले ओलीको पार्टी र सरकार सञ्चालनमा खरो आलोचना गर्दै आएका छन् ।सरकारका कमजोरीमा तथ्यसहित बहस गर्ने र आलोचना गर्न सक्ने रावल ओलीका लागि कठिन पात्र बन्दै आएका छन् ।

अमेरिकी विकास र सहयोग सम्बन्धी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा रावलले लिएको अडानले सरकार नै धरमरमा पारेको थियो । 

दुई वटा स्थायी कमिटीको बैठकमा सो विषयले ओलीको आलोचना मात्र भएन सरकारकै कार्यशैलीमाथि प्रश्न उठेको थियो । एमसीसीलाई पार्टीभित्रकै रावल, देव गुरुड र लिलामणि पोखरेल कै कारण बहसमा पुगेको थियो । 

सट्कसुटुक्क एमसीसी पारित गर्ने ओलीको योजना त्यसैकारण व्रेक लागेको र पार्टीभित्र विधिको कुरामा रावलको भनाईले प्रधानमन्त्रीलाई असजिलो पारेपछि  बालुवाटारमा बोलाएर मन्त्री बन्न प्रस्ताव गरिएको हो । 

रावल लगायत नेताहरुले नै एमसीसीलाई राष्ट्रव्यापी बहसमा लाने काम गरे । जुन ओलीका लागि पाच्य थिएन । जसकाकारण ओली र उनको सचिवालयका नेताहरु भीम रावलमाथि खनिन थालेका थिए । 

त्यही बीच रावल लगायत नेकपाका २० जना स्थायी समिति सदस्यले ओलीको कार्यशैली र उनले गत वैशाख ८ गते अगाडी ल्याएको अध्यादेश प्रकरणमा छलफलका लागि पार्टी स्थायी समिति बैठक बोलाउन माग गरेका थिए । त्यसपछि निरन्तर रुपमा रावलले ओलीको कार्यशैलीलाई लिएर विरोध गरिरहेका छन् । 

रावलले उठाउँदै आएका विषयहरुमै गत १० असारबाट शुरु भएको बैठक अहिलेसम्म पनि नेकपाभित्र जारी छ । कुन बिन्दुमा पुगेर यो बैठकले पूर्णविराम लगाउला भन्ने कुनै नेताले बताउन सकिरहेका छैनन् । 

यही बेला रावलले प्रधानमन्त्री ओलीको आलोचनामा २९ बुँदे आरोपसहितको १३ पृष्ठ लामो प्रतिवेदन नै तयार पारेर ओलीको राजीनामा माग गर्ने कुरा २० स्थायी समिति सदस्यको छलफलमा प्रस्तुत गरेका थिए । 

त्यसलाई मात्रिका यादव लगायत नेताहरुले साथ दिएका थिए । ओलीका  आलोचक देखिएका रावललाई समेत ओलीले अहिले फकाउन बालुवाटारमा बोलाएर झण्डै दुई घण्टा छलफल गरेका थिए । यस अगाडि पनि पार्टी बैठकका क्रममा रावलसँग छुट्टै छलफल गर्ने बताएका थिए ।

बालुवाटार रावललाई मात्र होइन, पछिल्ला दिनमा ओलीले सुरेन्द्र पाण्डे, वर्षमान पुन, घनश्याम भुषाल, योगेश भट्टराई लगायतका नेतालाई पनि छुट्टाछुट्टै बोलाएर छलफल गरेका छन् । रावलसँगको छलफलमा भने प्रधानमन्त्रीले विगतको स्मरण गराउँदै आफुलाई सहयोग गर्न आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।

रावलको विद्यार्थी राजनीतिदेखिका प्रसंग कोट्याउँदै  प्रधानमन्त्री ओलीले नेताहरु मिलेरै अगाडि बढ्नुपर्ने र लेनदेन एकोहोरो नभई दोहोरो हुने  र आफू जुनकुनै मन्त्रालय रोजेर  दिन तयार रहेको पनि बताएका थिए । रावलले मन्त्री बन्ने प्रस्ताव अहिलेलाई यही टुङ्ग्याउ बरु पार्टीभित्रको विवाद समाधान गरेर समकालीन पुस्ताको सर्वमान्य नेता बन्न सुझाव दिएर फर्केका थिए ।



लोकप्रिय समाचार
नयाँ