काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलो सतहमै पुगेको छ । नियमित एजेण्डामा प्रवेश गर्ने भनिएको नेकपा स्थायी कमिटी बैठक आठौं पटक प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुलाई बालुवाटारमै बोलाएका छन् ।
गत १० असारदेखि शुरू भएको स्थायी कमिटी बैठकमा प्रचण्ड, माधवकुमार नेता, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरुले प्रधानमन्त्री तथा नेकपा अध्यक्षबाट राजीनामा नै मागेपछि बढेको आन्तरिक विवाद यथावत् छ ।
नयाँ नक्सा जारी गरेपछि भारतले आफूलाई हटाउन खोजेको र पार्टीका शीर्ष नेताहरु ‘भारतीय दलाल’ भएको आरोप ओलीले लगाएपछि स्थायी कमिटीका धेरैजसो सदस्यहरुले ओलीको राजीनामा मागेका हुन् ।
सोमबार मात्रै सचिवालयका बहुमत सदस्यहरुको प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले बहुमतका आधारमा भए पनि अगाडि बढ्ने निर्णय गरेको थियो ।
मंगलबार बिहान अध्यक्षद्धय बसेर ११ बजेको स्थायी कमिटी बैठकलाई कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल गर्ने जनाइए पनि एक्कासी ओलीले आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत सामाजिक संजालमा स्थायी कमिटी बैठक स्थगित भएको जानकारी दिएपछि एकाएक प्रचण्ड र नेपाल पक्ष जोसिएको हो ।
दुवै नेताले सबै स्थायी कमिटी सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।
ओलीले अझै पनि आफ्नो मनोमानी गरेको भन्दै प्रचण्ड–नेपाल पक्षले वारपारको स्थितिमा नगई नहुने मनस्थिति बनाएको एक स्थायी कमिटी सदस्यले बताए ।
बालुवाटारमा नेताहरु भेला हुँदै गर्दा काठमाडौं उपत्यकामा भने भीषण वर्षा भइरहेको छ ।
पछिल्लो समय ६ साउनमा बसेको बैठकमा प्राकृतिक विपत्तिबाट देशमा ठूलो जनधनको क्षति भएकोमा दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षणसहित नेता कार्यकर्तालाई उद्धार र राहतमा खटाउने निर्णयसहित बैठक एक हप्ताको लागि स्थगित गरिएको थियो ।
ओलीलाई फेरि पनि गतिलो बहाना बनेको छ । तर इतर पक्षका नेताहरुले भने प्राकृतिक विपदका नाममा ओलीले आफ्नो सत्ता र पार्टी कुर्सीको आयु बढाइरहेको भन्दै अब कुनै बहानाको पछि नलागी यो विषयलाई टुंगोमा पुर्याउने बताएका छन् ।
ओलीले एक हप्ताको अवधिमा बाढी बहिरो र उद्धारमा नेताहरुलाई खटाउनुको सट्टा इतर पक्षका नेतालाई लोभ्याएर मन्त्री बनाउन प्रस्तावसमेत गरेको खुलेको छ ।