काठमाडौं। नेपाल राष्ट्र बैंकले घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको नाममा निर्देशन जारी गर्दै ३० प्रतिशतसम्म लाभांस वितरण गर्न पाउने जनाएको छ। घ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको नाममा मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले वितरण योग्य मुनाफाको ३० प्रतिशतसम्म लाभांस घोषणा तथा वितरण गर्न पाउने जानकारी गराएको हो।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको नाममा जारी गरेको निर्देशनको लाभांस सम्बन्धि व्यवस्थामा ‘इजाजत-पत्र प्राप्त संस्थाले आर्थिक वर्ष २०७६-०७७को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउनेछन्’उल्लेख गरिएको छ।
तर, त्यस्तो नगद लाभांस इजाजतपत्र प्राप्त संस्थाको २०७७ असार मसान्तमा कायम बचत-निक्षेपको भारित औषत ब्याजदरको प्रतिशत भन्दा बढी नहुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ।
खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशत भन्दा कम भएका इजाजत-पत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने समेत राष्ट्र बैंको निर्देशनमा उल्लेख गरिएको छ।
त्यस्तै राष्ट्र बैंकले एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय भई कारोबार गरिरहेका लघुवित्त वित्तीय संस्थाहरुले २०७८ असार भित्र उक्त शाखा विक्री, बन्द वा स्थानान्तरण गर्नुपर्ने समेत दिर्नेशनमा उल्लेख गरेको छ। त्यस्तै राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाको कर्जा-ब्याज भुक्तानी गर्ने अवधिलाई पनि वर्गीकरण गरेको छ।