काठमाडौं। पार्टी एकताका लागि भन्दै पुष्पकमल दाहाल र माधव नेपाल क्याम्प छाडेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उनको निवास भैंसेपाटी पुगेका छन्।
मंगलबार साँझ ७ बजे महासचिव विष्णु पौडेललाई साथमा लिएर प्रधानमन्त्री ओली गौतम निवास पुगेका हुन् । पार्टीभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला गौतमले मंगलबारमात्रै विवाद समाधानका लागि भन्दै ६ बुँदै प्रस्ताव दुई अध्यक्षलाई बुझाएका थिए ।
गौतमले पार्टीमा विग्रह आउन नदिन ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस अवधिभर प्रधानमन्त्री बनाउनेसहितको ६ बुँदे प्रस्ताव बुझाएका थिए ।
मंगलबार दिउसो दाहाल नेपाल समूहले आयोजना गरेको स्थायी कमिटीको बहुमत सदस्यहरुको बैठकमा लामो समय बोलेका गौतमले प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिन नहुने धारणा प्रस्तुत गरेका थिए । उनले तत्कालै प्रधानमन्त्रीबाट ओलीले राजिनामा दिन नहुने भन्दै मध्यमार्गी बाटो अपनाउन सुझाव दिएका थिए ।
पार्टी एकता बचाउन आफूले प्रस्ताव ल्याएको गौतमको दावी छ । गौतमले ६ बुँदे प्रस्ताव ल्याए पनि मंगलबार अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बहुमत स्थायी कमिटी बैठकमा सहभागि भएर ओलीको आलोचना गरेका थिए । त्यसलगत्तै गौतमलाई फकाउन प्रधानमन्त्री उनको निवास पुगेको स्रोतले बतायो।
ओलीको साथमा पत्नी राधिका शाक्य पनि गौतम निवास पुगेकी हुन् । उनीहरुले गौतम निवासमै रात्रिभोज गरेका छन् । उनीहरुको साथमा रहेका पौडेलले गौतमलाई पार्टीको नेतृत्व लिन प्रस्ताव गरेको स्रोतले जनाएको छ । गौतमले केही दिन अघिदेखि खुमलटार बैठक बहिस्कार गर्दै आएका थिए ।