arrow

लकडाउन खुलेसँगै बढ्यो संक्रमण दर, सामान्य जीवनमा फर्किएको नबुझ्न आग्रह

थप २१० जनामा कोभिड–१९ पुष्टि

logo
प्रकाशित २०७७ साउन १४ बुधबार
corona-nepal-ministry.JPG

काठमाडौँ ।लकडाउन खुलेसँगै कोभिड–१९ संक्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र संक्रमितको सङ्ख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो । 

लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना संक्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३.७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

बन्दाबन्दी खुलेसँगै सबै नवसामान्यीकरणमा आएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोभिड अगाडिको जस्तै सामान्य जीवनमा फर्किएका रुपमा नबुझ्न आग्रह गरे । कोरोना भाइरसको जोखिमकैबीचमा काम गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उचित जनस्वास्थ्य सावधानी अपनाउन अनुरोध गरे । पछिल्लो केही दिनदेखि लगातार कोरोना संक्रमितको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा विभिन्न २९ वटा प्रयोगशालामा छ हजार ३७ नमूना परीक्षणमा २१० जनामा कोभिड–१९ पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । 

बुधबार सबैभन्दा बढी डोटीमा ५२ संक्रमित फेला परेका छन् । त्यस्तै पर्सामा ३४, स्याङ्जामा २६, महोत्तरी र काठमाडौँमा १४/१४, धनुषामा १२, मोरङ, कैलाली र कञ्चनपुरमा आठ/आठ, धादिङ र बागलुङमा सात/सात, म्याग्दी, सप्तरी कपिलवस्तु र बैतडीमा दुई/दुई तथा सुनसरी, सर्लाही, भक्तपुर, रौतहट, तनहुँ र सुर्खेतमा एक/एक संक्रमित थपिएका छन् । 

मुलुकभर अहिले पनि सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार २०३ रहेको छ । प्रदेश नं १ मा २२६, प्रदेश नं २ मा एक हजार ९८२, वाग्मती प्रदेशमा ४८३, गण्डकी प्रदेशमा २८८, प्रदेश नं ५ मा ४०१, कर्णाली प्रदेशमा ३०२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ५२१ सक्रिय संक्रमित छन् । रौतहट र कैलालीमा अझै पनि ५०० बढी सक्रिय संक्रमित उपचाररत छन् । क्वारेन्टिनमा रहनेको सङ्ख्या १४ हजार ४७१ छ । 

नेपालमा हालसम्म कूल संक्रमितको ७२.७ प्रतिशत कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म १४ हजार २१ जना कोरोनालाई जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७८९, प्रदेश नं २ मा तीन हजार १८, वाग्मती प्रदेशमा ५१८, गण्डकी प्रदेशमा एक हजार २२७, प्रदेश ५ मा तीन हजार ९१०, कर्णाली प्रदेशमा एक हजार ६८६ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ८७३ जना कोरोनामुक्त भई डिस्चार्ज भइसकेका छन् । प्रदेश नं १ को भोजपुर र संखुवासभा, बाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय संक्रमित छैनन् । 

नेपालमा प्रति १० लाखमा १२ हजार २८४ जनाको कोरोना परीक्षण गरिएको छ भने मृत्युदर प्रति १० लाखमा १.६ रहेको छ । हालसम्म विश्वभर एक करोड ६९ लाख १७ हजार ७१४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट छ लाख ६३ हजार ९४२ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणमुक्त भएर एक करोड चार लाख ४२ हजार ३८३ ‘डिस्चार्ज’ भएका छन् । 



लोकप्रिय समाचार
नयाँ