काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले बन्दाबन्दीको समयमा बन्द रहेको स्वास्थ्य सेवा शुरु गरेको छ । अस्पतालले बुधबार एक विज्ञप्ति जारी कोभिड–१९ का कारण रोकिएको विस्तारित स्वास्थ्य सेवा र साधारण स्वास्थ्य सेवा शुरु गरेको जानकारी दिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा रोहितकुमार पोखरेलले कोभिड–१९ का कारण चैत ६ देखि बन्द गरिएको उक्त स्वास्थ्य सेवा बुधबारदेखि शुरु गरिएको जानकारी दिए ।
उक्त सेवा शुरु गरेसँगै अब बिरामीले सहज रुपमा स्वास्थ्यसेवा लिन पाउने भएका छन् । त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा इमर्जेन्सी सेवा भने प्रदान गर्दै आइरहेको थियो ।
यसअघि त्रिवि शिक्षण अस्पतालले बन्दाबन्दीको समयमा अस्पताल आउने कर्मचारी तथा डाक्टरलाई अनिवार्य पोशाक र माक्स लगाएर आउन सूचना जारी गरेको थियो ।