काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले नेकपा पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुटफूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भए पनि पार्टी फुटको चरणमा नभएको दाबीसमेत गरेका छन् ।
यहाँ बुधबार आयोजित साक्षात्कारमा नेता थापाले भने, “हाम्रो पार्टी फुटको चरणमा छैन् तर शक्ति संघर्ष उत्कर्षमा पुगेको छ । यो शक्ति संघर्ष कुनै वैचारिक होइन, व्यक्तिगत पद र प्रतिष्ठाको लागि जस्तो देखिएको छ ।” उनले पार्टीमा बहुमत-अल्पमतको आधारमा नभइ सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे ।
नेता थापाले नेकपा पार्टी एकताको दिशातर्फ केन्द्रित भएको दाबी गरे । हिजोको नेकपाको बैठकमा उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको उनको भनाइ छ ।
उनले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताए। उनले भने, “हिजोबाट हाम्रो पार्टी एकताताको स्पिरिटमा आइपुगेका छौँ, अब यही कोर्समा पार्टी अघि बढ्छ, म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।”