arrow

वामदेव निवासमा निकट नेताहरुको भेला, ६ बुँदे फिर्ता गर्न दबाब 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १४ बुधबार
bamdev1.jpg

काठमाडौं। पार्टीको आन्तरिक विवादलाई समाधान गर्ने भन्दै नेकपाका उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि अगाडि सारेको ६बुँदे प्रस्तावलाई फिर्ता गर्न निकट नेताहरुले दबाब दिएका छन् ।

अहिलेको अन्तरविरोध समाधान नगर्ने भन्दै निकट नेताहरूले ६ बुदे प्रस्ताव फिर्ता गर्न बुधबार उनी निकट नेताहरुले दबाब दिएका हुन् । बुधबार गौतमनिवास पुगेर केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, डा दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायतका नेताहरुले सो दबाब दिएको स्रोतले जनाएको छ ।  

‘हामी सबै पार्टी एकता बचाउनुपर्छ र तपाईंले त्यसमा महत्वपूर्ण योगदान पुर्‍याउनुहोस् भन्ने चाहान्छौं, तर तपाईंले ६ बुँदे सहमतिको प्रस्ताव भनेर जे पेस गर्नुभयो, त्यसले अहिले उठिरहेका नीति, विधि र प्रक्रियाका मुद्दा सम्बोधन हुने गरी अन्तरविरोध पनि समाधान गर्दैन, सबैलाई सम्मानजनक अवतरण गर्नका लागि स्पेस पनि दिँदैन,’ गौतम निवास पुगेका एक नेताले भने । उनका अनुसार गौतमले भने विगतमा प्रधानमन्त्री ओलीलाई साथ दिएर धेरै गल्ती गरेको अनुभूति भए पनि पार्टी विभाजन रोक्ने उद्देश्यले बाध्य भएर त्यस्तो प्रस्ताव ल्याएको बताएका थिए । ‘विगतमा केपीजीलाई साथ दिएर मैले जे गरेँ, त्यो ज्यादै गलत कदम थियो । तर, अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले प्रस्ताव अघि सारेको हुँ,’ गौतमले आफूलाई भेट्न आएका नेतालाई जवाफ फर्काएका थिए ।

प्रचण्ड–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरूको मंगलबारको बालुवाटार बैठकमा गौतमले प्रस्तुत गरेको ६बुँदे प्रस्तावमा प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै, प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा काम गर्ने र पार्टी सचिवालयको परामर्श र निर्णयअनुसार सरकारले महत्वपूर्ण निर्णय गर्नेलगायतका विषय समेटिएका छन् ।



लोकप्रिय समाचार
नयाँ