काठमाडौं । गृह मन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गर्न गएका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएर ज्यादती गरेको मात्र छैन उनीहरुलाई मध्यरातमै छाडेर अलपत्र पारेको छ ।
महेन्द्र पुलिस क्लबमा राखिएका उनीहरुलाई प्रहरीले मध्यरातमा छाडेपछि क्लबको गेट बाहिर सडकमै सुतेका थिए ।
पक्राउ परेकाहरुमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसी लगायत रहेका थिए । उनीहरुले पुलिस क्लबमा रहेरै बुधबार दिउँसोदेखि नै अनसन थालेका थिए ।
तर राति नै प्रहरीले छाडेपछि उनीहरु सडकमै सुताई, सडकमै अनसन र सडकमै प्रदर्शन गर्न वाध्य भएका हुन् ।
उनीहरुले कोभिड १९ को खतरा बढी रहेको अवस्थामा सरकारले अभियन्ताहरु प्रति देखाएको रवैयाले अधिनायकवादी प्रवृत्ति देखिएको बताएका छन् ।
यही प्रवृत्ति विरुद्ध उनीहरुले बिहीबार बिहान ‘अभियन्ता विरुद्धको सरकारको ज्यादती र कोभिड १९ को फितलो व्यवस्थापनको विरुद्ध बृहत प्रदर्शन गर्दैछन् ।
उनीहरुले बिहीबार ८ बजे महेन्द्र पुलिस क्लब अगाडि नै बृहत प्रदर्शन गर्न लागेका हुन् । उनीहरुले भने, ‘यो त अत्ति भो’ ।
आफूहरुका जायज माग भन्ने थाहा पाउँदा पाउँदै पनि सरकारले दोस्रो चरणको सत्याग्रहमा बस्न वाध्य पारेको र पुलिसले समेत मध्यरातमा आफूहरुलाई बाहिर फालिदिएपछि प्रहरीको भूमिकाप्रति पनि अभियन्ताहरुले प्रश्न गरेका छन् ।
उनीहरुले भनेका छन्, नेपाल प्रहरी हो कि नेकपा प्रहरी ?