काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा एकैदिन ४७९ जनालाई मनोनयन गरेका छन् ।
पार्टीभित्र पछिल्लो समय तीव्र मतभेद चलिरहँदा देउवाले बुधबार ४७९ जना सदस्यहरुलाई ज्येष्ठ राजनीतिज्ञ सभा गठन गरेका हुन् ।
विभिन्न विभागमा कुरा मिल्न नसक्नु, फागुनमा हुने १४ औं महाधिवेशनका लागि तयारी चुस्त नपार्नु र एकलौटी ढंगले चलिरहेको जस्ता आरोप लगाउँदै इतर पक्ष रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले असन्तुष्ट जनाउँदै आएका छन् ।
मनोनितहरुमा पूर्व सभामुखद्धय तारानाथ रानाभाट र दमननाथ ढुङ्गाना लगायतदेखि जिल्लातहमा काम गरेका स्थानीय तहका नेताहरुसमेत परेका छन् ।
पार्टी सुदृढिकरणमा नलागेको भन्दै असन्तुष्टि मच्चिएका बेलामा गठन भएको यो ज्येष्ठ राजनीतिज्ञ सभाले मिश्रित प्रतिक्रिया पाएको छ ।
देउवाले यो सभामा मनोनयन गर्ने क्रममा आफ्नो गृहजिल्ला डडेलधुराबाट दुई दर्जन सदस्य मनोनित गर्दा मोरङ्गबाट तीन जनामात्र परेका छन् ।