काठमाडौं । विगतका वर्षहरुमा सधैं भदौमा हुँदै आएको नाडा अटो शो यस वर्ष भदौमा हुने संभावना घटेको छ । कोरोना भाइरस नियन्त्रण गर्न भन्दै गत चैत देखि सरकारले गरेको लकडाउन खुला भएपनि संक्रमणको जोखिम अझै नटरेका कारण नाडा अटो शो सो समयमा करिब करिब नहुने निश्चित प्राय छ ।
यस विषयमा नेपाल अटो मोबाइल एसोसिएसन (नाडा)का सचिव अनुप बरालसमक्ष राखेको जिज्ञासामा उनले अहिलेको परिस्थिति अनुसार नाडा अटो शो नहुने संकेत गरे ।
‘अटो शो यही भदौको पहिलो हप्ता देखि हुने प्रचलन थियो । तर, अहिलेको परिस्थितिलाई मध्यनजर गरेर कुनै पनि प्रकारको निणर्य भइसकेको छैन’ बरालले भने, ‘अटो कसरी सुरक्षित तरिकाले गर्न सकिन्छ? वा सकिँदैन? कुन समयमा गर्दा उपयुक्त हुन्छ? भन्ने लगायतका विषयहरुमा प्रारम्भिक छलफल चाँही भइरहेको छ ।’
अहिलेको परिस्थिति अनुसार अटो शो गर्नका लागि सुरक्षित भएर गर्न चुनौती रहेको बरालको भनाई थियो । ‘अहिलेको परिस्थितिमा अटो गर्न धेरै कुराहरुमा सुरक्षित भएर गर्नुपर्ने भएको हुनाले तत्काललाई कुनै प्रकारको योजना छैन’ उनले थपे, ‘अटो शो नाडाको नियमित कार्यक्रम भएको हुनाले भोलीको दिनमा सुरक्षा जोखिम हटेपछि समय छ ।’