बीरगंज। दिनदिनै दर्जनौको हिसाबले कोरोना संक्रमित थपिदै गएको पर्सा जिल्लामा ४२ जना स्वास्थ्यकर्मीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति पर्साको बैठकमा वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी नजाने गरेको कारणले गर्दा पर्सामा कोरोना नियन्त्रण गर्न स्थानीय प्रशासन र महानगरबीच तालमेल हुन सकेको छैन । यहि अव्यवस्थाकैबीच स्वास्थ्यकर्मीहरुको असन्तुष्टी पनि चुलिएको छ ।
गत शनिबार जिल्ला संकट व्यवस्थापन समितिको बैठकमा पनि मेयर सरावगी उपस्थित भएनन् । मेयरले असहयोग गरेको अनुभुति स्थानीय प्रशासनलाई भएपछि प्रहरीले महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमु्ख अरुण महतोलाई कार्यालयमै गई आफ्नो गाडीमा बसाएर जिल्ला प्रशासनमा बोलाई ६० जना कर्मचारी उपलब्ध गराउन पत्र थमाएको थियो ।
सो अनुसार महानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई स्वाब संकलन र आइसोलेशन सेन्टरमा खट्न अह्रायो । स्वास्थ्यकर्मीहरुले स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोसँग खाने बस्ने लगायत अन्य सेवा सुविधाको सन्दर्भममा जानकारी माग्दा उनले “जहन्नुम मे जाओ” “नर्कमा जाउँ” भनेपछि कुरा बिग्रेको आरोप स्वास्थ्यकर्मी विवेक चौरसियाले आरोप लगाए । हाम्राकुरासँग कुरा गर्दै चौरसियाले भने, 'एक त हामीलाई तालिम छैन । तर पनि खट्न तयार हुँदाहुँदै प्रहरी लगाएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । महामारीमा स्वास्थ्यकर्मीहरुको सुरक्षा व्यवस्थाको बारेमा सोध्न जाँदा पक्राउ खानुपर्ने?'
स्थानिय प्रहरीले ११ जना महिला स्थास्थ्यकर्मी सहित ४२ जना स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका स्वास्थयकर्मीहरुसँग स्थानिय प्रशासनले छलफल गरिरहेको छ ।