arrow

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाले प्राचिनता र मौलिकता मास्ने भन्दै स्थानीय विरोधमा

विकास कोष  भन्छ, वरिपरिको बस्तीलाई व्यवस्थित बनाऔं भन्दा विरोध भएको हो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १५ बिहिबार
pashupatinath-mandir.jpeg

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले अघि सारेको गुरुयोजनाले पशुपतिको प्राचिनता र मौलिकता नष्ट गर्ने भन्दै स्थानीयबासीहरुले विरोध गरेका छन् । तर विकास कोषले भने पशुपति वरिपरिको बस्तीलाई व्यवस्थित बनाउन प्रस्ताव गरिए पछि स्थानीयबासीले विरोध गरेको जनाएको छ । 

कोषले गत फागुनमै गुरुयोजना पास गरी मन्त्रिपरिषद्मा लगेको थियो । तर संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको केही दिन अघि बसेको बैठकले गुरु योजनालाई जस्ताको त्यस्तै पास नगर्न निर्देशन गरेको छ । उक्त  गुरु योजनाबारेमा सरोकारवाला र स्थानीयबासीहरुसँग छलफल गरी उनीहरुको राय सल्लाह समेत लिएर गुरुयोजनालाई परिमार्जन गर्न समितिले निर्देशन दिएको हो ।

समितिका सदस्य दिव्यमणीराज भण्डारीले गुरुयोजना सम्बन्धी विषयमा सम्बन्धित सरोकारवालासँग छलफल गरेर राष्ट्रिय हितमा हुने गरी गुरुयोजनालाई परिमार्जन गर्न समितिले कोषलाई निर्देशन दिएको जानकारी गराए । समितिको निर्देशन पछि मन्त्रिपरिषदले गुरुयोजना पास गरेको छैन । 

काठमाडौं क्षेत्र नम्वर ४कै समानुपातिक सांसद राजभण्डारीकै पहलमा समितिमा यस बारेमा छलफल भइ निर्देशन दिएको थियो। संस्कृती तथा पर्यटनमन्त्री योगेश भट्टराईकै उपस्थितिमै भएको वृहत छलफलपछि सरोकारवालासँग छलफल गरि राष्ट्रिय हितमा निर्णय गर्न निर्देशन दिएको थियो।   

तर पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने स्थानीबासीहरुले प्रचार गरे झै पशुपति क्षेत्रको मौलिकता र प्राचिनता नष्ट हुने गरी गुरुयोजना नबनाएको दावी गरे । ‘संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशन पछि पयर्टन तथा संस्कृतिमन्त्रीको उपस्थितिमा स्थानीयबासी र सरोकारवाला पक्षलाई बोलाई छलफल गर्ने कार्यक्रम गर्ने भएका छौ’ खतिवडाले भने, ‘छलफल पछि योजनामा सामान्य परिमार्जन गर्न सक्छौ । तर सबै विषयमा परिवर्तन गर्ने भन्ने होइन ।’

गुरुयोजनामा राखिएको पशुपति क्षेत्र वरिपरिको बस्तीलाई व्यवस्थित बनाउने प्रस्तावसँग स्थानीयबासीको विरोध रहेको उनले बताए । उनले भने, ‘ पशपुति क्षेत्र वरिपरिको अतिक्रमित वस्तीलाई व्यबस्थति बनाऔ भन्ने हाम्रो मुख्य प्रस्ताव हो । पशुपति क्षेत्र वरिपरिको वस्तीमा घरघरै शिवलिंग छन् । कुनै घरमा त तल शिवलिंग छ तर माथि शौचालय छ । यस्तो प्रवृत्तीलाई सच्च्याऔ र बस्ती व्यवस्थित बनाउ भन्ने हाम्रो योजना हो।’ शिबलिंग भएका घरहरुमा पनि पशुपति दर्शन गर्न भक्तालुहरुले दर्शन गर्न सकून भनेर दर्शन सम्पदा परिक्रमा पथ निर्माण गर्न गुरु योजनामा प्रस्ताव गरिएको उनको भनाइ छ ।

स्थानीयबासीहरु भने कोषले अघि सारेको गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउन नभइ वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप लगाएका छन् । ‘पहिले खतिवडाजीले बस्ती हटाउछौ भन्नुभयो । अहिले बस्ती व्यवस्थित बनाउन खोजका हौ भन्नुहुन्छ ’ स्थानीयबासी श्यामकृष्ण संगतले भने,‘तर गुरुयोजनामा पशुपति मन्दिरबाट ओम अस्पतालदेखि रातोपुलसम्म करिब ४ सय घर हटाउने प्रस्ताव गरिएको छ । जुन हामीलाई सह्य हुदैन ।’

खतिवडाले भने पाशुपत क्षेत्र वरिपरिको बस्ती नहटाइ त्यहाँको बस्तीलाई लिच्छिवीकालीन बस्तीको रुपमा रुपान्तरित गर्न खोजिएको बताए । उनले भने, ‘पशुपति वरिपरिको बस्तीमा कुनै घर ५ तलाको छ । कुनै घर एक तले छ । सबै घरलाई व्यवस्थित बनाइ लिच्छिविकालीन बस्तीको रुपमा विकसित गर्ने हाम्रो योजना हो ।’ पशुपति क्षेत्र वरिपरिका स्थानीयबासीहरु भने आफूहरुसँग सरसल्लाह र सहमति नगरी पशुपति क्षेत्र विकास कोषले गुरुयोजना लागु गर्न नदिने अडान राखेका छन् । ‘हामीसँग सरसल्लाह र छलफल नगरी गुरु योजना पास गर्न दिन्नौ’ संगतले भने । 

कोषले साउन ४ गते गुरुयोजनाकोबारेमा स्थानीयबासीहरुलाई छलफल गर्न बोलाएका थियो तर स्थानीयबासीहरुले झारा टार्ने हिसाबबाट अपर्झट बोलाइएको भन्दै कोषको कार्यक्रम बहिष्कार गरेका थिए । उनीहरुले आफूले कार्यक्रम बहिष्कार गरेको सूचना जनाइ त्यहाँबाट हिडेका थिए । कोषले स्थानीयबासीहरुसँग फेरि यस्तै कार्यक्रम राख्ने तयारी गरेको छ ।

अन्तराष्ट्रिय सम्बन्ध समितिका सदस्य तथा सांसद राजभण्डारीले स्थानीयबासी र सरोकारवालसँग छलफल नै नगरी गुरु योजना बनाएकोमा आपत्ति जनाए । ‘यती गम्भिर विषयमा स्थानीयबासी र सरोकारवालसँग छलफल नगरी कोषले गुरु योजना अघि सारेकोमा हाम्रो आपत्ति हो ’ उनले भने । कोषमा सम्बन्धित क्षेत्रका विज्ञ तथा स्थानीयबासी खासगरि नेवार समुदायको प्रतिनिधित्व नभइ एकल जातको मात्र प्रतिनिधित्व भएकाले कोषले अघि सारेको गुरुयोजनामा स्थानीयबासीहरु सहमत हुन नसकेको उनको भनाइ छ । स्थानिय नेवार जातीलाई पाखा लगाउने गरि ल्याइएको यो गुरुयोजनाले अन्तत पशुपति क्षेत्रलाई नै समस्यामा पार्ने राजभण्डारीको ठहर छ।   

के के छ, गुरु योजनामा प्रस्ताव ?
कोषका कार्यकारी निर्देशक डा. खतिवडाका अनुसार गुरु योजनमा मन्दिरलाई दुई लेयर (तह)मा राख्ने, पश्चिमी गेट नभत्काइ पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थयात्रुहरुकोलागि दर्शनपथलाई स्तरोन्न्नती गर्ने लगायतका प्रस्ताव रहेका छन् । तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन् । पश्चिमी गेट भत्काएमा पशुपतिको मौलिकता नष्ट हुने उनीहरुको भनाइ छ । 

खतिवडाका अनुसार गुरु योजनामा पशुपति क्षेत्र वरिपरिको सबै सम्पदा, बस्तीभित्र रहेका शिवलिंगहरुको दर्शन तथा अवलोकन गर्ने गरी बाटो सहित परिक्रमा पथ बनाउने, अर्को ब्रम्हनाल थप्ने, भएको ब्रह्मनाल नहटाउने, पशुपति वरिपरिको बस्तीलाई लिच्छिवीकालीन बस्तीको रुपमा विकसित गर्ने, तीर्थयात्रुहरुकोलागि निशुल्क भोजन वितरण कक्ष बनाउने, पशुपति क्षेत्रलाई पशुपति अध्ययन केन्द्र बनाउने, पशुपति क्षेत्रका भण्डारखाल जंगलमा ध्यान केन्द्र बनाउने लगायतका प्रस्ताव राखिएका छन् । 

यसैगरी गुह्यश्वरी मन्दिर वरिपरि घुम्न सक्ने गरी परिक्रमा पथ बनाउने, बागमतीमा जलप्रवाह बढाउने, गौरीघाटलाई व्यवस्थित बनाउने लगायतका प्रस्ताव राखिएको खतिवडाले जनाए । 



लोकप्रिय समाचार
नयाँ