स्याङ्जा । असार मसान्तसम्म स्याङ्जामा कोरोना संक्रमणको अवस्था हेर्दा धेरै न्यूनिकरण देखिएको थियो । अब स्याङ्जा कोरोना मुक्त जिल्ला हुँदैछ भन्ने आँकडा हुँदै थियो । असार मसान्तसम्म जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित १२ जना मात्रै आईसोलेसनमा उपचारार्थ रहेका थिए ।
साउनको दोस्रो सातादेखि फेरि स्याङ्जामा एकाएक कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३ जना सुरक्षाकर्मीमा रुघाखोकी लागेपछि उनीहरुको स्वाब लिइएको थियो ।
३ जनामै कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय मातहतका सबै सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएपछि अहिले स्याङ्जामा प्रहरीका उच्च अधिकारीसहित ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
नागरिकको शान्ति सुरक्षा लगायत विपत्तिमा नजिक बसेर सेवा दिने सुरक्षाकर्मीमा संक्रमण देखिएपछि स्याङ्जामा यतिबेला सन्त्रासको अवस्था रहेको छ । स्वास्थ्य प्रयोगशाला पोखरामा प्रहरी कार्यालयबाट श्वाब परीक्षण गर्न पठाइएको १ सय ३ मध्ये ३९ जनामा संक्रमण देखिएको छ भने अझै ५ जनाको स्वाब परीक्षण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए ।
उनका अनुसार दुई जना थुनुवा र एक जना सुरक्षाकर्मीको बच्चामा समेत संक्रमण देखिएको छ । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए ।
अहिले जिल्लास्थित करेन्डाँडा र हेलुमा रहेका आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म स्याङ्जामा ६७ जनाको आइसोलेसनमा उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।
हालसम्म स्याङ्जामा २ सय ६० संक्रमितमध्ये १ सय ९१ निको भएर घर फर्किसकेका छन् । २ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।
यता गल्याङ नगरपालिकामा मेडिकल व्यवसायीसँगै क्वारेन्टिनमा बसेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिएको शर्माले बताए ।
मेडिकल व्यवसायीमा समेत कोरोना संक्रमण देखिएपछि समुदाय सम्म फैलिएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख शर्माका अनुसार २ सयभन्दा बढीको स्वाव आउन बाँकी रहेको र २ सयभन्दा बढी क्वारेन्टिनमा रहेका छन् ।
सुरक्षाकर्मीमा कोरोना भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिलगरिएको छ । कार्यालय सिल भएपछि कार्यालयबाट सम्पादनहुने काम विद्युतीय सेवाबाट प्रबाह गरिएको छ । अन्य शान्तिसुरक्षाको काम कारवाही वडा प्रहरी कार्यालय वालिङबाट हुँदै आएको छ ।
१० दिन निषेधाज्ञा
सामान्य अवस्था तर्फ फकर्दै गरेको स्याङ्जा फेरि पुरानै अवस्थामा जान थालेको छ । समुदाय स्तरमा कोरोनाको सङ्मण देखिन थालेपछि स्याङ्जा जिल्लामा कडाई गर्न शुरु हुन थालेपछि फेरि पुरानै अवस्थामा जान थालेको हो । सुरक्षाकर्मीसहित समुदायमा संक्रमण देखिएपछि अन्य समुदायमा संक्रमण फैलिन नदिन जिल्लालाई अत्याआवश्यक बाहेक १० दिनका लागि सबै बन्द गर्ने निर्णय भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार अत्यावश्यक सेवाबाहेक जिल्ला भर सवै सेवा प्रवाहलाई बन्द गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले दश दिनका लागि सेवाप्रवाह बन्द गर्ने निर्णय गरेको हो । यस्तै जिल्ला सुरक्षा समितिले यो भन्दा अगाडि नै जारी गरेको निषेधाज्ञा यथावत रहेको प्रजिअ क्षेत्रीले बताए । जिल्लामा बैंक वित्तिय संस्था, उद्योगी व्यवसाय, होटल लगायत भाडाका सवारी साधनहरुलाई अत्यआवश्यक बाहेक सेवा बन्द गर्न आग्रह गरिएको छ ।
स्याङ्जामा ३९ जना सुरक्षाकर्मी सहित एम्वुलेन्स चालकलाई कोरोना सङ्मण पुष्टी भएपछि जिल्लामा कडाई गरिएको हो । जिल्ला प्रहरी कार्यालय योभन्दा अगाडि नै सिल गरिएको छ भने सङ्क्रमित प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् भने अन्य प्रहरीलाई हेलुस्थित कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा राखिएको छ ।
अहिलेसम्म स्याङ्जाको पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिका अत्यन्तै जोखिम देखिएको छ । गल्याङ्मा पनि सुरक्षाकर्मी सहित मेडिकल व्यवसायीलाई समेत संक्रमण देखिएपछि नगरपालिकाले पनि उच्च सर्तकता अपनाएको छ ।
नेपाल प्रहरीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि सदरमुकाममा शसस्त्र प्रहरीबाट सुरक्षा व्यवस्था मिलाइएको छ ।