काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले ‘सरकार अब त अति भयो’ भनेर खबरदारी गर्न आम नागरिकलाई आह्वान गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अत्यन्त तिव्र रुपमा फैलिए पनि सरकारले लापर्वाही गरेको भन्दै उनले सरकारले सुन्नेगरी खबरदारी गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालहरु मार्फत् उनले बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी सबैले ‘सरकार अब अति भो’ भन्नु पर्ने बेला आएको बताए ।
नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको विवादमा अल्झेको, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफुले राम्रो काम गरेको छु भन्दै आफै भजन गाउँदै हिँडेको टिप्पणी पनि गरे ।
मुख्य जिम्मेबार पदाधिकारीहरुलाई नै संक्रमण नियन्त्रणको विषय प्राथमिकतामा नपरेकाले संक्रमणले नराम्रो रुप लिनसक्ने नेता थापाले चिन्ता व्यक्त गरेका छन् ।
उनले कोरोनाको संक्रमण भुसको आगोझैँ फैलिए पनि सरकारले परीक्षणको दायरा नबढाएको र अस्पताल केन्द्रीत तयारी नगरेकोभन्दै आपत्ति जनाएका छन् ।
नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू पार्टीको खिचातानीमा व्यस्त ! स्वास्थ्यमन्त्री गज्जबको काम गरेँ भन्दै भजन गाउन मस्त ! भुसको आगोझै संक्रमण फैलिएको छ, सरकार न परीक्षण बढाउँछ, न अस्पताल केन्द्रित तयारी गर्छ । बालुवाटारको पर्खालभित्र निद्रामा मस्त सरकारलाई देख्ने र सुन्ने गरी भनौँ – सरकार अब अति भो !’