काठमाडौं। सरकारले गत ६ साउन देखि पूर्ण रुपमा लकडाउन खोलेको घोषणा गरेपनि सवारी चालक अनुमति पत्र लागि दिइने ट्रायल खोलेको छैन। ट्रायल दिने ठाउँमा बढी भीडभाड हुने र कोरोना संक्रमणको जोखिम बढी हुने भएका कारण ट्रायल खुलाउने विषय अनिश्चित बनेको सरकारले बताएपनि सर्वसाधारणले भने ट्रायल खुलाउनु पर्ने माग गरेका छन्।
करिब करिब सबै क्षेत्र खुलिसकेको अवस्थामा ट्रायल मात्रै बन्द गरेर धेरैलाई मार्का परेको भन्दै सर्वसाधारणले ट्रायल खुलाउनु पर्ने माग गरेका हुन्। काठमाडौं न्युप्लाजा बस्दै आएका दाङका राजु केसीले आफ्नो लाइसेन्स नविकरण गर्नुपर्ने समय भएको भन्दै नविकरण फम नखुलेका कारण नविकरण गर्न नपाएको गुनसो गरे।
‘सरकारले लकडाउन पूर्ण रुपमा खोलिसकेको अवस्थामा ट्रायल मात्रै किन बन्द गरेको होला?’ केसीले प्रश्न गर्दै भने, ‘हामीले पनि काम गर्नुपर्छ। नविकरण नभएको अवस्थामा अप्ठ्यारो भइरहेको छ।’ त्यस्तै उनकै साथी सन्दीप न्यौपानेले पनि लाइसेन्स लिनुपर्ने भएकाले ट्रायल खोल्नु पर्ने आवश्यकता रहेको बताए। ‘मेरो पनि लाइसेन्स लिनुपर्ने थियो’ उनले भने, ‘सुरक्षाका मापदण्ड अप्नाएर खुला गर्दा हुन्छ।’
काठमाडौं गुर्जधारामा रहेको भेइकिल एकेडेमी एण्ड रिसर्च सेन्टर ट्रायल सेन्टरका सञ्चालक माधव अधिकारीले सरकारले सबै कुरा खुलिसकेपछि ट्रायल सेन्टर बन्द राख्नु खासै उचित नदेखिएको बताए। ‘हामीलाई पनि आम सर्वसाधारणले फोन गरेर ट्रायल कहिले खुल्छ भनेर सोधिरहेका छन्’ अधिकारीले भने, ‘ट्रायल खोल्नु धेरैको आवश्यकता देखिएको छ।
सरकारलाई राजश्वको ठुलो स्रोत समेत भएकाले ट्रायल खोल्दा उपयुक्त हुन्छ।’ सरकारले लकडाउन खोलेर सबै क्षेत्र खुला गरीसकेको अवस्थामा भीडभाड नहुने गरी सुरक्षित तरिकाले ट्रायल खोल्नु पर्ने अधिकारीको भनाई छ। ‘सरकारलाई राजश्व हुने ठुलो सम्भावनाको क्षेत्रपनि हो यो’ उनले भने, ‘सुरक्षाका मापदण्ड अपनाएर जति सक्दो चाँडो खोलिदिँदा उपयुक्त हुन्छ।’
यता यातायात व्यवस्था विभागले अहिलेको परिस्थिति अनुसार तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुला गर्न कठिन रहेको बताए। विभागका महानिर्देशक गोगनबहादुर हमालले अहिले कोरोनाको संक्रमण बढेका कारण तत्कालन लाइसेन्सको ट्रायल खोल्ने कुनै सम्भावना नरहेको बताए। ‘संक्रमण बढेको बढ्यै छ’ उनले भने, ‘लाइसेन्सको ट्रायल खुला गर्ने तत्काल कुनै सम्भवना छैन। दुई देखि तीन महिना कम्तीमा लाग्छ।’
सरकारले सवारी चालक अनुमति पत्रको ट्रायल नखोल्दा एकातिर यसबाट सरकालाई प्राप्त हुने राजश्व गुमिरहेको छ। अर्कोतिर गत वर्ष देखि थलिएको अटो ब्यापार उकास्नमा धक्का लागेको छ भने त्यसबाट प्राप्त हुने राजश्वमा समेत गुमाउने स्थिति देखिन्छ। लकडाउनका कारण झनै थलिएको अटो बजार पछिल्लो समय विस्तारै उकासिने अवस्था रहेपनि आक्रामक रुपमा ब्यापार बढाउन सरकारले ट्रायल खुलाएर मद्यत गर्नुपर्ने अटो व्यवसायी बताउँछन्।