हुम्ला । नेपाल पत्रकार महासंघ हुम्लाका संस्थापक अध्यक्ष जयबहादुर रोकायाको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका रोकायाको पक्षघातका कारण मृत्यु भएको हो ।
छ दिन अगाडि आफ्नै घर बाहिर निस्कँदा पक्षघात भएर सिक्सित अवस्थामा रहेका रोकयाको आफ्नै घर सिमकोटमा उपचार भईरहेको थियो ।
दुई पटक नेपाल पत्रकार महासंघ हुम्लाको अध्यक्ष, १ पटक महासंघको केन्द्रिय सदस्य भएका रोकाया हुम्ला उद्योग बाणिज्य संघ हुम्लाका समेत संस्थापक अध्यक्ष पनि हुन् ।
लामो समय कान्तिपुर मिडिया ग्रुपसंग आबद्ध रहेका रोकाया कान्तिपुरसंगै विभिन्न सञ्चार माध्यममा काम गर्दै आएका थिए ।
पत्रकारीता क्षेत्रका धरोहर रोकायालाई हुम्लाको पत्रकारिताको पिताकै रुपमा मानिदैं आएको पत्रकार महासंघ हुम्लाका सचिब राज शाहाले बताए ।
पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य रोकायको निधनको विषयलाई लिएर शनिबार बेलुकी साढे ७ बजे नेपाल पत्रकार महासंघ हुम्लाको आपत्कालिन बैठक बसि रोकायाको निधन भएकोमा शोक प्रस्ताब पारितगरेको महासंघ जिल्ला शाखा सचिव शाहीले जानकारी दिए ।
२०११ सालमा बुवा सिंगबिर रोकाया र आमा औली रोकायाको कोखबाट जन्मिएका रोकायाका दुई श्रीमती, चार छोरा र एक छोरी छन् ।