काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा गरेको वृद्धिप्रति नेपाल विद्यार्थी संघ नेविसंघले आपत्ति जनाएको छ ।
कोरोना भाइरसको महामारीले आर्थिक क्षेत्र चौपट भएको अवस्थामा आयल निगमले पटक पटक मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको भन्दै नेविसंघले आपत्ति जनाएको हो ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरेका हुन् । प्रेस नोट जारी गर्दै उनले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु भनेको सबै क्षेत्र र बस्तुमा मुल्यवृद्धि हुनु हो भन्दै तत्काल फिर्ता गर्न माग गरेका हुन् ।
महामारीले जनताको जीवयापन अत्यन्तै असहज र कष्टकर भैरहेको र थप राहत, सहुलियतको जरुरी रहेको समयमा सरकार निरन्तर नागरीकलाइ थप पीडा दिन र चुलो बन्द गराउन उद्धत रहेको आरोप पनि तिमल्सिनाले लगाएका छन् ।
उनले बिनाकारण पटक पटक गरिएको मुल्यबृद्धि खारेज गराउन नेपाल आयल निगम र सरकारका बिरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको समेत बताएका छन् ।
यस्तो छ मूल्यवृद्धि–
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु दुईले वृद्धि गरेको छ। यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर रु १।५० ले वृद्धि गरेको छ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही बढेर आएकाले मूल्यमा केही वृद्धि गरिएको हो ।
यसअघि पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ रहेकामा अब भने रु १०४ पुगेको छ । यस्तै डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ ५० पैसा रहेकामा अब बढेर रु ९० पुगेको छ। निगमले हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्य वृद्धि गरेको छैन।
निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ।
नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ। निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ।