काठमाडौं। नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा गुटगत भेलाहरु हुन थालेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल मात्र होइन रामबहादुर थापाले समेत आफू पक्षका नेताहरुलाई बोलाएर छलफल शुरु गरेका छन् । पार्टी सचिवालयको बुहमतको निर्णयलाई लत्याएर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गरेको भन्दै सत्तारुढ नेकपा भित्र यतिबेला आन्तरिक विवाद चर्कदै गएको छ । यस्तो अवस्थामा थापाले आफु पक्षका नेताहरुलाई बोलाएर छुट्टै छलफल गरेका हुन् ।
दाहालले आफू पक्षका नेताहरुलाई कित्ता क्लियर गर्न दिएको निर्देशनपछि नेताहरुले आफ्ना समूहका नेताहरुसँग छलफल थालेका हुन् । प्रधानमन्त्री ओलीले पनि केही हप्ता अघि आफ्नो क्याबिनेटका मन्त्रीहरुलाई ‘कित्ता क्लियर’ गर्न चेतावनी दिएका थिए । त्यसकै जवाफमा दाहालले पनि आफू पक्षका नेताहरुलाई त्यस्तै चेतावनी दिएका हुन् । सचिवालय सदस्य बामदेव गौतमको भैँसेपाटी निवासमै प्रधानमन्त्री केपी शर्मा ओली ‘डिनर’का लागि सवार भएपछि त नेकपा भित्रको राजनीति झनै पेचिलो बन्दै गएको छ। बामदेवले ६ बुँदे प्रस्ताव अघि सारेर उनी पुनः ओली कित्तामा पुगेपछि गृहमन्त्री समेत रहेका थापाले सानेपास्थित एक होटलमा आफ्ना समूहका नेताहरुलाई बोलाएर छलफल गरेको स्रोतले दावी गरेको छ । सानेपाको होटलमा जम्मा भएका थापा पक्षका नेताहरु मन्त्री क्वार्टरमा पनि पुगेर छलफललाई निरन्तरता दिएका थिए । पूर्व माओवादीबाट छुट्टिएर मोहन वैद्य समूहमा गएका र पुनः प्रचण्ड समूहमै फर्किएको बर्तमान गृहमन्त्री थापा ‘बादल’ समूहको त्यो भेलाले सरकारमा रहँदा ओलीसँग सहकार्य गर्ने सरकारमा नरहने अवस्थामा दाहालसँग सहकार्य गर्ने निचोडसहित छुट्टिएको थियो ।
मन्त्री निवास पुल्चोकमा भएको भेलामा भने स्थायी कमिटी र केन्द्रीय कमिटी गरी दुई दर्जन नेताहरुको सहभागीता रहेको स्रोतले जानकारी दियो । सहभागी केही नेताहरुले दाहालसँग मिलेर जानुपर्ने धारणा राखेका थिए भने केही नेताहरुले महाधिवेशनसम्म ओलीसँगै मिलेर जानुपर्ने धारणा राखेको थिए । उपत्यका बाहिर रहेका तर बिगतमा आफुसँगै रहेका केही प्रतिनिधिमूलक केन्द्रीय कमिटीका सदस्यहरुलाई बोलाइएको थियो । एक नेताका अनुसार पार्टीभित्र अहिले गम्भीर समस्या आइपरेको हुनाले कसरी अघि बढ्न सकिन्छ र के धारणा बनाउन सकिन्छ भनेर छलफलमा जुटिएको थियो । मुख्यतः पार्टी एकता जोगाउन सक्दो भूमिका निर्वाह गर्ने र अहिले देखिएको पार्टी भित्रको आन्तरिक समस्या समाधानको बाटो निकाल्न बहस केन्द्रित भएको उनले बताए ।
पार्टी एकता महत्वपूर्ण रहेको, विचारका हिसाबले दाहालसँग रहने र पार्टीभित्र देखा परेका समस्या महाधिवेशनमार्फत समाधान गर्नुपर्ने बादलको धारणा थियो । एमसीसी, संसद विघटन, राष्ट्रपति शासन, अध्यादेश लगायतका विषयमा भने सहमत हुन नसकिने भेलाको निष्कर्ष थियो । दाहाल र बादलसँग छलफल गरेरै अघि बढ्ने र यदि पार्टी फुट्नै लाग्यो भने मात्र ‘पोजिशन क्लियर’ गर्नुपर्ने धारणा बादलको रहेको पनि ती नेताले बताए । पार्टी एकता भएको २६ महिनापछि बादलले आफ्नो समूहको बैठक डाकेको यो पहिलो पटक हो । यो बैठकले पार्टीमा गुटको भेला गराएको भन्दा पनि पार्टीलाई अझ बढी सुदृढ, एकताबद्ध र नीति, पद्धती, सिद्धान्तमा कसरी रहने भन्ने सन्देश दिन खोजिएको जनाइएको छ ।
नेकपा भित्र ओली, दाहाल, माधव नेपाल पछिको चौथो शक्तिका रुपमा बादल समूहलाई लिने गरिन्छ । हाल बादल समूहको केन्द्रीय सदस्यहरु ३५ जना छन् । दाहाल समूहसँग नजिक रहेका नेताहरु मध्ये धेरैले तत्काल ओलीसँग मिलेर जानुपर्नै बताइरहेका बेला थापा समूहका नेताहरुले पनि महाधिवेशनसम्म ओलीसँग मिल्दा नै अधिकतम उपलब्धी हुने जिकिर गरेका थिए ।
सो भेलापछि थापा निकट केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले एकताबद्ध पार्टीले मात्र आगामी महाधिवेशनबाट समाजवादको मुर्त कार्यदिशा निर्माण र लागू गर्न सक्षम हुनेछ बताएका थिए । उनले यहि अधिवेशनले एकल अध्यक्ष र भावी प्रमको प्रस्ताव सहित आगामी चुनावमा व्यापक र विशाल हुनेछ र धैर्यतापुर्वक पाइला चाल्नुनै सहि देखिन्छ भन्दै उत्तेजना अधैर्यता आवेग माथी बिजयी बनौ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । ‘ एकताबद्ध पार्टीले मात्र आगामी महाधिवेशनबाट समाजवादको मुर्त कार्यदिशा निर्माण र लागू गर्न सक्षम हुनेछ । यहि महाधिवेशनले एकल अध्यक्ष र भावी प्रमको प्रस्ताव सहित आगामी चुनावमा व्यापक र विशाल हुनेछ । तसर्थ धैर्यतापुर्वक पाइला चाल्नुनै सहि देखिन्छ । उत्तेजना अधैर्यता आवेग माथी बिजयी बनौ’, उनले आफ्नो आधिकारिक ट्वीटरमा भनेका छन् ।