arrow

ताल फुट्ने जोखिम कायमैै, सचेत रहन आग्रह

logo
 देवराज सुवेदी,
प्रकाशित २०७७ साउन १८ आइतबार
12bishe-badhi.jpg

सिन्धुपाल्चोक । छिमेकीमूलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रमा क्षति पुर्‍याउनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
 
तिब्बत् क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । “शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ”, उनले भने, “त्यसैले भोटेकोशी तटिय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेको छौँ ।” 

तातोपानीलगायत सबै पोष्टका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्नसक्ने जानकारी आएको थियो । भोटेकोशी तटिय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासनले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

 बाह्रबीसे –तातोपानी सडक अस्थायी सञ्चालन
गत असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनीको राजमार्ग अन्तर्गत बाह्रबीसे–कोदारी सडक खण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायतका संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको होे । बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडक खण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्न योग्य भएको छ ।
 
अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन शुरु भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा हिमपाइप राखेर अस्थायी रुपमा सडक निर्माणकार्य  भएको सडक कार्यालय चरिकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखेर तीन लाइनको कलर्भट निर्माण गरेर अस्थायी रुपमा सडक निर्माण गरिएको सडक महतोले बताउनुभयो  । उनका अनुसार अस्थायीरुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि प्रक्रिया शुरु गरिएको छ ।



लोकप्रिय समाचार
नयाँ