सिन्ह्वा, बेइजिङ । भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको अस्पताल भर्ना भएको दुई सातापछि मृत्यु भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।
मन्त्रीको बिहान ९:३० बजे संजय गान्धी मेडिकल विज्ञान संस्थानमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । उनमा कोरोना संक्रमण देखिएपछि जुलाई १८ मा अस्पतालमा भर्ना भएकी थिइन्।
साथै विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ ।
अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो ।
त्यसैगरी कुल संक्रमितको संख्या पनि एक करोड ८० लाख ३३ हजार २७९ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ ।
सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल संक्रमितको संख्या ४७ लाख ६४ हजार ५२२ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५७ हजार ९०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना संक्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ३६४ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ७३६ जना संक्रमित भएका छन् । योसँगै कुल संक्रमितको संख्या साढे १७ लाखभन्दा बढी पुगेको छ ।