arrow

संक्रमण नरोकिएपछि राजविराजको हटिया सिल

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
covid-test-positive-corona.jpg

राजविराज । कोरोनाको संक्रमण बढ्नेक्रम  नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि अनिश्चिितकालका लागि सिल गरिएको छ । सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु  यादवले  जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि  ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए ।

शनिबार सार्वजनिक भएको पिसिआर रिपोर्टअनुसार राजविराज–७ मा दुई र हालसम्म छ जनालाई कोरोना संक्रमण देखिएपछि हटिया बन्द गरिएको स्थानीयवासीले बताएका छन् । सोमबार हुने रक्षाबन्धनका लागि भीडभाड हुन नदिन हटिया प्रवेश गरिने नौ मुख्य प्रवेशद्वारमा प्रवेश निषेधको ब्यानर झुण्ड्याएर हटियालाई निषेधित क्षेत्र घोषणासमेत गरेका छन् । 

राजविराजमा कोरानाका कारण साउन १ गते एकजना व्यापारीको मृत्यु भएर उनको परिवारका सदस्य हुँदै समुदायमै संक्रमण फैलिएपछि नगरपालिकाले लकडाउन तथा स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेका छन् । शनिबारको रिपोर्टअनुसार वडा नं ७ का ५५ र ४० वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । यसबाहेक नगर क्षेत्रमा मात्रै शनिबार १८ जना संक्रमित थपिएका छन् । स्थानीय युवाले त्रासको वातावरण अरू मानिसमा  नहोस् भन्दै हटिया सिल गरी बन्द गराउनु परेको जनाएका छन् । 

ग्रिन नेपालका संयोजक खेलानन्द दासले राजविराज नगर क्षेत्रमा कोरोना संक्रमणको त्रास नरोकिएसम्म हटिया सञ्चालन गर्न नदिने जानकारी दिए । राजविराज नगरपालिकाले ७ गतेदेखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन र स्थानीय प्रशासनले पनि साउन ८ गतेदेखि राजविराजमा निषेधित क्षेत्र घोषणा गरेका छन् भने वडा नं ६ सिरहारोडमा अनिश्चितकालीन निषेधाज्ञासमेत आदेश जारी गरेको छ ।



लोकप्रिय समाचार
नयाँ