arrow

कोरोना संक्रमणले सुनसान ढोरबराही

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
dhorbarahi.jpg

बलेवा । ढोरबाराही पूजा व्यवस्थापन समितिले कोरोना भाइरस संक्रमणको समस्याका कारण केही दिनअघिनै सूचना दिएर मेला नहुने जानकारी गराएपछि अहिले त्यहाँ भक्तजन आएका छैनन् । नजिकै घर भएका, तत्काल आएर फर्कने र भीड नगर्ने गरी पूजामा सहभागी हुने केही मानिसबाहेक ढोरबाराहीमा कोही नआएको स्थानीय बासिन्दाले बताएका छन् ।

यो वर्ष नगरपालिकाले पनि मेला महोत्सवमा भेला नहुन सूचित गरेको छ । ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरिबहादुर घर्तीले कोरोनाका कारण मेला आयोजना नगरिएको जानकारी दिए । ढोरपाटनको ढोरबाराही मन्दिर र उत्तरगङ्गामा हरेक वर्ष जनैपूर्णिमामा मेला लाग्थ्यो । मेलाका लागि स्थानीय युवा क्लब, समाजसेवी, नेपाली सेनाको ब्यारेकबाट स्वयंसेवी काम हुने गरेको थियो । खोलामा अस्थायी पुल हालेर आउजाउमा सहज गराउने काम पनि गरिन्थ्यो । यो वर्ष भने भीड लाग्न नदिन सहजीकरणको काम पनि रोकिएको छ ।

जनैपूर्णिमाको केही दिनअघिदेखि नै यहा मेला भर्न सयौं आउने गर्थे । आइतबारसम्म यहाँ कोही नआएको स्थानीयवासीले बताए । जनैपूर्णिमाको अवसरमा लाग्ने मेलामा बागलुङ, म्याग्दी र रुकुमसहित गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका अन्य जिल्लाबाट हजारौंँ मानिस ढोरपाटन पुग्ने गर्थे । कोरोना संक्रमणको जोखिम रहेको भन्दै ढोरपाटन नगरपालिका र स्थानीय आयोजकले पनि मेला नगर्ने जनाएपछि पूर्णिमाको दिन औपचारिक पूजा मात्रै गरिने भएको उनीहरुले जानकारी दिए ।

अघिल्लो वर्ष नगरपालिकाले मन्दिर व्यवस्थापन र घेराबारका लागि मात्रै एक करोड लगानी गरेको थियो ।  ढोरबाराहीको पूजा गरेर भोग चढाएपछि सुरक्षा र सहकाल आउने यहाँका मानिसमा विश्वास छ । बराह अवतारकोस्वरुप भएकोले दर्शन गर्दा साक्षत भगवानको दर्शन पाइनेसमेत स्थानीयवासीमा विश्वास छ ।
यहाँ पूजा गरेर गाउने, नाच्ने र आफन्त भेट्ने अवसरको रुपमा जनैपूर्णिमालाई लिने गरिन्छ । 

नेपाल सरकार र प्रदेश सरकारले नदिएको वर्ष पनि नगरपालिकाले मेलाका लागि बिदा दिएको थियो । यहाँका २२ धाराबाट झरेको पानी उत्तर बगेकोले उत्तरगङ्गा भनिन्छ । यो उत्तरगङ्गा ढोरपाटनबाट बगेर रुकुमहुँदै कर्णालीमा पुगेको छ । उत्तरगङ्गा जलविद्युत् आयोजनासमेत यही पानीबाट निकाल्ने तयारी छ । 



लोकप्रिय समाचार
नयाँ