arrow

राक्षस मार्न सहयोग गर्ने भ्यागुताको पूजा

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
Frog.jpg

 काठमाडौँ ।   नेवारी समुदायले श्रावण शुक्लपूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । जनैपुर्णिमाको दिन नेवार समुदायका किसानहरु धान खेतमा पुगेर भ्यागुताको पूजा गरी सिमीको पातमा क्वाँटी राखेर खुवाउने चलन रहिआएको छ । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । सहरी क्षेत्रमा बस्ने नेवारीहरू खेत बारीमा भ्यागुतालाई क्वाँटी र रोटी खुवाउने चलन रहेको छ ।

सोमबारका दिन नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका हुन् ।  प्राचीनकालमा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्ण राक्षस नेपालमा प्रवेश गरेको थियो । एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाय बताई संहार हुनबाट बचाएकाले पनि जनैपूर्णिमाका दिन तिनले गरेको गुण सम्झेर भात खुवाई कृतज्ञता ज्ञापन गरेको हो ।

नेवार समुदायमा यसै दिनदेखि करुण रसले भरिएको ‘शिलु तीर्थ म्ये’ गीत गाउने चलन छ । राजधानी तथा अन्य ठाउँमा बौद्ध धर्मावलम्बीहरू गुँला बाजा बजाउँदै विभिन्न बाहा र बहीमा राखिएका दीपंकर तथागत, बुद्ध बोद्धिसत्वलोकेश्वर, तारा आदिका मूर्तिहरू, पौवा, हस्तलिखित ग्रन्थहरू हेर्न जाने गर्दछन् ।

 बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्मावलम्बीले भने सोमबारको दिनलाई भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रूपमा मनाउने गर्दछन् ।

 बौद्ध धर्मग्रन्थ ललितविस्तरमा यससम्बन्धी विस्तृतरूपमा व्याख्या गरिएको छ । यसैका कारण श्रावण शुक्लपूर्णिमाका दिन स्वयम्भूमा पनि विशेष मेला लाग्छ । यस वर्ष भने कोरोनाका कारण स्वयम्भूको मेला पनि प्रभावित भएको छ ।



लोकप्रिय समाचार
नयाँ