काठमाडौं। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाकी वरिष्ठ निर्देशक लिसा कर्टिसले चीनले नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप बढाएको दाबी गरेकी छिन्।
कर्टिसले एक कार्यक्रममा बोल्दै छिमेकी देशहरूमा चीनको बढ्दो हस्तक्षेप र रणनीतिबारे विश्लेषण भइरहेको पनि बताईन। पछिल्लो केही महिनादेखि चीनले छिमेकी मुलकमा हदैसम्मको हस्तक्षेप गरिरहेको उनको दाबी छ।
उनले भनिन्, चीनले आफ्ना छिमेकीहरूको सार्वभौमिकतामाथी हमला बोलेको उदाहरणहरू देख्छौं। मे महिनातिर चिनियाँ सरकारी मिडियाले नेपालको सार्वभौमिकताको प्रतीक माउन्ट एभरेष्ट चीनको हो भनेर आलेख छापेको थियो। त्यस्तै, उसले पूर्वी भूटानको पनि केही क्षेत्रमाथि दावी गरेको थियो।
नेपालसंगै श्रीलंकामा पनि चीनले ब्यापारको बहानामा आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको दावी गरिन। उनले नेपाललगाएतका चीनका छिमेकी मुलूकलाई सचेत रहन आग्रह समेत गरेकी छिन्।