कास्की । अन्नपूर्ण गाउँपालिकामा सोमबार दिउँसो भएको जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा जीप चालक मुस्ताङ घर भएका ४० वर्षीय सोमप्रसाद शेरचनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पोखरा बाग्लुङ राजमार्गको नयाँपुलबाट घान्द्रुकतर्फ खाद्यान्न लिएर गएको ग२च २८१७ नंको बोलेरो जीप दिउँसो १:३० बजेको समयमा वडा नं १० को क्लिउ भन्ने स्थानमा अनियन्त्रित भएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको बताइन्छ ।
घटनास्थलबाट शवपरीक्षणका लागि पोखरा ल्याउने तयारी भइरहेको प्रनाउ हमालले जानकारी दिए ।