विराटनगर । प्रदेश नं १ मा सोमबार ५७ जनामा संक्रमण देखापरेको छ । प्रदेश नं १ मा सोमबार गरिएको ९५१ जनाको पिसिआर परीक्षणमध्ये १८ महिलासहित ५७ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले बताए ।
संक्रमित देखिएकामध्ये मोरङमा ४६, झापामा छ र सुनसरीमा पाँचजना रहेका छन् । मोरङको विराटनगरका छ महिलासहित २२, रङ्गेलीका नौ महिलासहित २२, कटहरीका दुई महिला, झापाको अर्जुनधाराका पाँच, विर्तामोडका एक महिला, सुनसरीको इटहरीका तीन, धरान र इनरुवामा एक÷एकजनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा मेहताले जानकारी दिए ।
प्रदेशमा संक्रमितको सङ्ख्या एक हजार १२८ पुगेको छ । प्रदेशबाट सोमबार आठजना संक्रमित निको भई घर फर्केका छन् । यसरी घर फर्कनेमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीन महिलासहित आठजना रहेका छन् ।
प्रदेशमा निको हुने संक्रमितको सङ्ख्या ८२९ पुगेको छ । प्रदेशमा हालसम्म ४५ हजार ७७१ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।