दार्चुला । भारत र चीनसंग सिमा जोडिएको दार्चुला जिल्लामा सशस्त्र प्रहरी बलको गण स्थापना भएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार खलंगामा सशस्त्र प्रहरी बलको ४४ नम्बर गण स्थापना गरिएको हो ।
खलंगामा यसअघि रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङ्गरुमा स्थापना हुने भएपछि खलंगामा गण स्थापना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बहादुर बमले जानकारी दिए ।
खलंगामा गण स्थापना भएसंगै सशस्त्र प्रहरी उपरीक्षक बम गणपतिमा सरुवा भएर दार्चुला आउनु भएको हो । सशस्त्र प्रहरी बलले पाएको विभिन्न जिम्मेवारी मध्ये सिमा सुरक्षा, सिमा अपराध न्युनिकरण, ओसारपसार, मावन बेचविखन, तस्करी लगायतका गतिविधिलाई न्युनिकरण गर्न जिल्लामा गण स्थापना भएको उनले बताए ।
जिल्लामा गण स्थापना भए संगै सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ५ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, १४ जना सशस्त्र प्रहरी निरीक्षक गरी ६ सय २१ जना सशस्त्र प्रहरीहरु बस्ने उनको भनाई छ ।
यसैबिच भारत संगको सिमा रक्षाका लागि तत्काल चार वटा बीओपी स्थापना हुने भएका छन् । खलंगामा गण स्थापना भएसंगै महाकाली नगरपालिका–९ दत्तु, ब्याँस गाउँपालिका–१ तिंकर, मल्लो कौवा र वडा नम्बर ४ को सुन्सेरामा सशस्त्र प्रहरी बलको बिओपी स्थापना हुने उनले बताए ।
यस्तै मालिकार्जुन गाउँपालिकाको जोलजिवी र तिंकरमा बीओपी भवन निर्माणका लागि १-१ करोड बजेट विनियोजन भएको समेत गणपति बमले जानकारी दिए ।
जिल्लामा यसअघि भारतसंग सिमा जोडिएका लाली, जोलजिवी, दुम्लिङ्ग र छाङ्गरुमा सशस्त्र प्रहरी बलको ४ वटा बीओपी स्थापना भइसकेका छन् । भारतसंग दार्चुला जिल्लाको १ सय २५ किलोमिटर सिमा जोडिएको छ, भने चीन संग २० किलोमिटर सिमा जोडिएको छ ।