काठमाडौं। कोरोना भाइरस नियन्त्रण गर्न भन्दै सरकारले ४ महिना लामो लकडाउन लगायो। उक्त लकडाउन कारण करिब करिब ठप्प बनेको अटो बजारमा पछिल्लो समय केही सुधार देखिन थालेको छ।
गत वर्ष नै सवारी साधन खरिद गर्दा सरकारले ५० प्रतिशत अनिवार्य डाउनपेमेन्ट गर्नुपर्ने नीतिले खस्केको अटो बजार पछिल्लो समय कोरोनाका कारण उत्पन्न परिस्थितिले झनै मारमा परेको थियो । गत साउन ६ गतेदेखि सरकारले पूर्णरुपमा लकडाउन खोलेपछि पछिल्लो समय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनको विक्री बढ्दै गएको व्यवसायी बताउँछन्।
नेपाल अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले पछिल्लो समय अटो मोबाइलको कारोबार सुधार हुँदै गइरहेको बताए। सार्वजनिक सवारीमार्फत हुने यातायात व्यवस्थित नभएका कारण अधिकांशले निजी सवारी प्रयोग गर्न खोजेकाले कारोबार राम्रो हुन थालेको दुलालले बताए।
‘सार्वजनिक गाडी नगुडेपछि प्राइभेट गाडीहरु मोटर साइकल, कार, जीपहरु राम्रो विक्री भइराखेको छ अहिले’ दुलालले भने, ‘लकडाउन भन्दा अघिको अवस्थामा आइपुगेको त छैन।
तर अहिले भइरहेको व्यापार हेर्दा विस्तारै सुधार आउने देखिन्छ।’ सरकारले जोरविजोर लगाउने कुरा गरेको र जोर विजोर लगाएमा अझ कारोबारमा सुधार हुने अध्यक्ष दुलालले बताए। ‘अहिले सवारी साधन विक्रीका लागि सबै कम्पनीले आ आफ्नो स्किम लागु गरेका कारण पनि सवारी विक्रीमा सुधार देखिँदै गइरहेको दुलालको भनाई थियो।