सचिव वढुवा सुचीमा सधै एक नम्वरमा, बनाइने बेला सधै बाहिर
चार पटकदेखि यसरी नै लखेटिदै सहसचिव दवाडी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन १९ सोमबार
40
Shares
काठमाडौं। नेपाल सरकारका एक जना वरिष्ठ सहसचिव ४ पटकसम्म वढुवा सिफारिसमा सबै एक नम्वरमा परे पनि सचिव नियुक्त हुने बेलामा सधै सरकारी कोपभाजनको शिकार भएका छन् । नेकपा निकट नभएकै कारण सहसचिव गोकर्णमणि दवाडीलाई सरकारले पटक पटक अन्याय गर्दै आएको स्वयं कर्मचारीहरु नै बताउँछन् ।
सहसचिवबाट सचिवमा बढुवा हुने सूचीमा बरिष्ठताको आधारमा सधै एक नम्बरमा नाम परेपनि सरकारले एक नम्बरमा गरिएको सिफारिशलाई वेवास्ता गर्दै उनी भन्दा कनिष्ठहरुलाई बढुवा गर्दै आएको छ ।
सरकारको यस्तो रवैया देखेर उनकै सहकर्मीहरु पनि चकित छन् । सरकारको यस्तो रवैयाबाट भएका एक जना सरकारी कर्मचारी रमेश उपाध्ययले सामाजिक सञ्जालमै असन्तुष्टी पोखेका छन् । उनले भनेका छन, ‘दुवाडी सरले के चाहिँ गल्ती गर्नु भएको रहेछ ? लगातार ४ पटकसम्म सचिब बढुवाका लागि एक नम्बरमा बढुवा समितिले सिफारिस गरेपनी नेपाल सरकार सचिब पदमा बढुवा गर्न मान्दैन । दलको चम्चागीरी नगर्नेलाइ बढुवा गर्न मिल्दैन रहेछ भन्ने बुझियो ।’
सहसचिवबाट सचिवमा बढुवा हुनकोलागि बढुवा समितिले २०७६ माघमा तीन जनाको नाम सिफारिश गर्यो। समितिबाट रामशरण पुडासैनी, अर्जुन पोखरेल र दुवाडीको नाम सिफारिश गरियो, तर सरकारले पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्यो । २०७६ फागुनमा सकारले अर्जुन पोखरेललाई सचिवमा बढुवा गर्यो । दोश्रो पटक बढुवा समितिले पहिलो नम्बरमा दुवाडी, दोश्रो नम्बरमा मानबहादुर विक र तेश्रो नम्बरमा बिष्णु नेपालको नाम सिफारिश गर्यो । सरकारले तेश्रो नम्बरका नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गर्यो ।
तेश्रो पटक सरकारले २०७७ असारमा मानबहादुर विकलाई सचिवमा बढुवा गर्ने निर्णय गर्यो तर बढुवा समितिले दुवाडी, विक र मधु मरासिनीको नाम सिफारिश गरेको थियो । दुवाडीको नाम पहिलो स्थानमा थियो तर सरकारले दोश्रो नम्बरका विकलाई सचिवमा बढुवा गर्यो ।
चौथो पटक २०७७ साउनमा बढुवा समितिले चन्द्रमान श्रेष्ठ, दुवाडी र मधु मरासिनीको नाम सिफारिश गर्यो तर सरकारले तेश्रो नम्बरका मरासिनीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्यो । बढुवा समितिले केही दिन अघि मात्र सचिवमा बढुवा हुनकोलागि चन्द्रमान श्रेष्ठ, दुवाडी र वीरबहादुर राइको नाम सरकारलाई सिफारिश गरेको छ । सरकार निकट स्रोतका अनुसार सरकारले तेश्रो नम्बरका राइलाई सचिवलाई बढुवा गर्ने तयारी गरेको छ । यसपटक पनि दुवाडीमाथि अन्याय हुने सम्भावना रहेको स्रोतको दावी छ । यसपटक राइको नाम छानिएमा दुवाडीमााथि पाँचौ पटक अन्याय हुनेछ ।
सहसचिवबाट सचिवमा बढुवा गर्न बढुवा समितिको अध्यक्षता लोकसेवा आयोगका अध्यक्षले गर्नुपर्ने कानुनमा व्यवस्था छ । उक्त समितिमा मुख्य सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव समितिको सदस्य हुने व्यवस्था छ । बढुवा समितिले एक पदकोलागि ३ जनाको नाम सिफारिश गर्ने छ । ३ जना मध्ये एक जनाको नाम छनौट गर्ने अधिकार मन्त्रिपरिषद्लाई हुन्छ । तीन जनाबाट एक जनाको नाम छनौट गर्न मन्त्रिपरिषदले आफ्नो विवेक प्रयोग गर्ने गर्छ । यसरी विवेक प्रयोग गर्दा पहिलो नम्बरमा सिफारिश गरिएकाहरु अन्यायमा पर्ने गरेका छन् । यसरी बारम्बार अन्यायमा पर्दै आएका दुवाडी हाल सूचना तथा सञ्चार मन्त्रालयमा कार्यरत छन् । केही दिन अघि मात्र उनलाई बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो । यसबारेमा सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमै आउन चाहदैनन् । उनी निकट साथीहरु भने उनीमाथि राजनीतिक पूर्वाग्रही साँधिएको हुन सक्ने अनुमान गर्छन ।