काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीका दिनसम्म मनाइने गाइजात्रा पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू गाइन्छ ।
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी विसं २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन् ।
हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।
हिजोआज गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ ।