भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिमित आमन्त्रितहरुका बीच मन्दिरको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
कोरोनाको प्रभाव बढ्दै जाँदा सतर्कता अपनाउँदै सिमित अतिथिहरुलाई मात्र बोलाइएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
राम मन्दिर निर्माण अभियानका अभियन्ताहरु लालकृष्ण आणवानी र मुरलीमनोहर जोशीले भिडियो कन्फ्रेन्समार्फत शिलान्यास समारोहमा सहभागी हुनेछन् ।
भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह सहित विभिन्न राज्यका मुख्यमन्त्रीहरु समेत कोरोना संक्रमित पाइएपछि कार्यक्रममा व्यापक सुरक्षा सतर्कता अपनाइएको छ । आमन्त्रित सबैले कोरोना नभएको प्रमाण पेश गर्नुपर्नेछ ।
करिब डेढ सय आमन्त्रिहरुका बीच हुने कार्यक्रम टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारण गरि रामभक्तहरुमा सन्देश प्रसारण गरिने तयारी रहेको समेत भारतीय मिडियाहरुले जनाएका छन्।
शिलान्यास कार्यक्रममा नेपालबाट जानकी मन्दिरका महन्थ रामतपेश्वरदास बैष्णवलाई निमन्त्रणा गरिएको छ। नेपालबाट निम्त्याइएका उनी सम्भवत एक्ला अतिथि हुन्। पत्रकार सम्मेलन गरेरै उनले भूमीपूजनको दिन जनकपुरमा दिप प्रज्वलन गर्न आग्रह गरे ।
पशुपतिनाथ क्षेत्र विकास कोषका सदस्य संहिता शास्त्री अर्जुन प्रसाद बास्तोलाले राम मन्दिरको शिलान्यास तथा भूमिपुजन कार्यक्रमको शुभकामना दिएका छन्। बास्तोलाले राम मन्दिरको निर्माण चाँडै हुने अपेक्षा पनि गरेका छन् ।