arrow

पीर छैन संक्रमित जनप्रतिनिधिलाई, उपमहानगर पूर्ण रुपमा सिल

logo
भेषराज बस्नेत,
प्रकाशित २०७७ साउन २० मंगलबार
nepalgunj2.jpg

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाका कोरोना संक्रमित जनप्रतिनिधि र कर्मचारीले जनताको काम गर्दा संक्रमित हुनु परेकामा कुनै पश्चाताप नरहेको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नं १ का अध्यक्ष र वडा नं २० का कम्प्युटर अपरेटरले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गरेका छन्।

“जनताको काम गर्दागर्दै मलाई कोरोना संक्रमण भए पनि पीर छैन, म त स्वस्थ नै छु । पीर त मेरा जनताको स्वास्थ्यको छ, कसैलाई पनि केही नहोस् ।”, जनतालाई सान्त्वना दिँदै उनले भने, “यस्तो बेलामा नआत्तिऔँ बरु सबैले सावधानी अपनाऔँ ।” 

कोरोना रोकथामको अभियानमा अग्रभागमा रहेर क्रियाशील हुँदै आएका वडाध्यक्षलाई उपमहानगरपालिका र वडाको काम गर्ने क्रममै सोमबार कोरोनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । जनताकै सुरक्षाका लागि काम गर्दागर्दै संक्रमित हुनु परेकामा आफू कहीँ कतै दुःखी नभएको बताउँदै उनले जनताको सेवा अनि आफ्नो कर्तव्य पूरा गर्ने क्रममा आफू भाइरसको संक्रमणमा परे पनि वडावासीले सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेका छन्। 

“जनतालाई सुरक्षित बनाउनकै लागि आफ्नो जिउज्यान नै जोखिममा राखेर यथाशक्य सुरक्षित हुने प्रयास गरेकै हो तर संक्रमण भइहाल्यो”,उनी भन्छन्,“कोरोनासँग डराएर भागेर हुँदैन, पराजित गरी फर्किने छु ।”

नेपालगञ्ज उपमहानगरपालिका–२० का कम्प्युटर अपरेटरलाई पनि जनताको काम गर्ने क्रममै सोमबार कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा रहेको आइसोलेशन केन्द्रमा उपचार गरिरहेका ३३ वर्षीय कार्कीले कोरोना संक्रमणको जोखिम रहँदारहँदै पनि जिम्मेवारी वहन गर्ने क्रममा संक्रमण भए पनि आफूलाई कुनै दुःख नलागेको बताए । 

उनी भन्छन्, “जनताको काम गर्ने क्रममा कोरोना लाग्यो, त्यसमा मलाई कत्ति चित्त दुखाइ छैन, निको भएर छिट्टै जनताको काममा फर्किने छु ।” समुदायमा कोरोना फैलिएकाले सबैजना सजक र सचेत हुन जरुरी रहेको कम्प्युटर अपरेटर कार्की बताउछन् । आम जनताको सजगता र सचेतनाबाटै यस रोगबाट बच्न सकिने भएकाले हरेक नागरिक जिम्मेवार हुनु आवश्यक रहेको उनको भनाइ छ ।

उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका पूर्ण रुपमा बन्द (सिल) गरिएको छ । जनप्रतिनिधि र कर्मचारी गरी आठ जनामा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि उपमहानगरपालिका कार्यालय ‘सिल’ गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए। 

वडाध्यक्ष र सात कर्मचारीमा कोरोना देखिएपछि संक्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए । रोगको संक्रमणको अवस्थामा समान्य भएपछि कार्यालय नियमित रुपमा सञ्चालन हुनेछ उनले भने । 



लोकप्रिय समाचार
नयाँ