arrow

महाधिवेशनको हल्लापछि वामदेव गुट बनाउन व्यस्त 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २० मंगलबार
bamdev_g.JPG

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र शीर्ष नेताहरुको आफ्नै गुट शक्तिशाली भएका बेला क्षयीकरण हुँदै गएको आफ्नो गुट संगठित गर्न उपाध्यक्ष वामदेव गौतम जुटेका छन् । पार्टीभित्र छिटै उत्साही हुने र छिटै आवेगमा आइहाल्ने नेता भएकै कारणले अन्य नेताहरुको उपयोगमा परेका वामदेव गौतमको गुट क्षयीकरण हुँदै गएको थियो । पछिल्लो पटक नेकपाको आन्तरिक विवादमा सल्टाउन ६ बुँदे प्रस्ताव राखे लगत्तै गौतम आफ्नो गुट निर्माणमा लागेका हुन् । 

तत्कालिन मालेलाई एमालेमा मिलाएदेखि नै उनको गुट कमजोर बन्दै आएको थियो । तत्कालिन एमालेको नवौ महाधिवेशनसम्म आइपुग्दा उनको समूहका नेताहरुको कोही वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र कोही वरिष्ठ नेता माधव नेपाल समूहतिर लागिसकेको अवस्था उनी दिनदिनै कमजोर बन्न पुगेका थिए । हरि पराजुली, डिबी कार्की, केशवलाल श्रेष्ठ, लगायतका दुई चार जना बाहेक उनको समूहका प्रभावशाली नेताहरु हाल उनको साथमा छैनन । बलराम बाँस्कोटाले समेत पछिल्लो समय गौतमलाई साथ दिन छाडेका छन् । उनी बेला बेलामा माधव नेपालको घरमा भेटिन थालेका छन् । कुनै बेला गुटका उनी शक्तिशाली नेता थिए । यामलाल कँडेल, किरण गुरुङ, रघुविर महासेठ, ठाकुर गैरे, दलबहादुर राना, रामकुमारी झाक्री, लगायतका नेताहरु उनकै गुटमा सक्रिय थिए । तर अहिले गौतमसँग यी कुनै नेता साथमा छैनन । कँडेल, महासेठ र गुरुङ ओलीतिर छन्, गैरे र झाक्री नेपालतिर र राना विष्णु पौडेलतिर छन् । त्यसैगरी घनश्याम भूषाल, योगेश भट्टराईहरुले पनि उहिल्यै गौतमको साथ छाडिसकेका छन् । 

दुई महिना अघि बसेको नेकपा सचिवालय बैठकमा गौतमले अब म गुटगत भेला गर्दिन भनेका थिए । यसअघि आफ्नो गुट भत्काउन प्रधानमन्त्री ओलीको निर्णायक भूमिका रहेको बताउदै आएका थिए । मेरो गुट ओलीजीले भत्काईदिनुभयो, अहिले मेरा मान्छे नै छैनन, सबै कोही कता कोही कता लागे भन्दै गुट भत्केकोमा दुखेसो गर्दै आएका गौतमले अहिले भने पुराना सहयात्रीहरुलाई निवासमै बोलाएर भेटघाट गर्न थालेका छन् । आन्तरिक विवाद बढ्दै गएपछि गत हप्ता घनश्याम भूषाल, योगेश भट्टराई लगायतका पूर्व माले समूहका नेताहरुसँग भेटघाट गरेका थिए । ‘उहाँले केही नेताहरुलाई घरमै बोलाएर कुराकानी गर्नुभएको छ पुराना साथीहरुलाई बोलाउनु भएको हो’, उनी निकट एक नेताले भने । 

हाल नेकपाभित्र ओली, प्रचण्ड, नेपाल र रामबहादुर थापा सम्मका आआफना समुह छन् । समुह नहुँदा आन्तरिक राजनीतिमा कमजोर हुने ठानी उनले फेरि गुट आवश्यक पर्न थालेको बताउन थालेका छन् । ‘सबैले गुट बनाएरै राजनीति गर्न थालेपछि वामदेव कमरेडले पनि बनाउनतिर सोच्नुपर्ने भएको होला। पहिला उहाँले आफ्नो समूहमा भएका सबैलाई स्वतन्त्र छाडिदिनु भयो अब बोलाएर केही साथीहरुसँग छलफल गरिरहनु भएको छ’, गौतम निकट नेता हरि पराजुलीले भने । गौतमको गुट स्थायी कमिटीमा देखिदैन केन्द्रीय कमिटीमा पनि मुस्किलले सात आठ जना छन् । सचिवालयमा रहेका उनी सचिवालयको बैठकमा भने तानातानमा पर्छन् । कहिले ओलीतिर कहिले प्रचण्डतिर लागेका गौतम अहिले भने आन्तरिक विवादलाई सहजीकरण गर्न भन्दै ६ बुँदे प्रस्ताव ल्याएर ओलीतिर लागेका छन् । पछिल्लो समय उनी ओलीको उपयोग मात्र बनिरहेका छन् । अहिले पनि उनले अगाडी बढाएको ६ वुँदे प्रस्ताव पनि ओलीकै सहयोगका लागि ल्याएको स्पष्ट हुन्छ । उनले १३ साउनमा ६ बुँदे प्रस्ताव ल्याएपछि युवा पुस्ताका नेताहरुसँग पनि छलफल गरे । यो उनको फेरि पूरानै गुट ब्यूताएर जाने आकांक्षा थियो । पूर्व माले कालका नेताहरुलाई उनले अहिले फेरि संगठित गर्न कोसिस गरेका छन् । त्यही क्रममा उनले १४ साउनमा ठाकुर गैरे, राजकुमारी झाक्री, दिपकप्रकाश भट्ट, सुरेन्द्र मानन्धर, रविन कोइराला, जीवनराम श्रेष्ठलाई आफ्नै निवासमा भेटन बोलाएका थिए । आफुलाई सहयोग गर्न, आफनो प्रस्तावमा पार्टीका अन्य नेताहरुलाई पनि सहमत गराउन भूमिका खेलिदिन गौतमले युवा नेताहरुलाइृ आग्रह गरे । 

महाधिवेशनको हल्ला चलेपछि गौतमलाई अप्ठ्यारो परिरहेका कारण पनि उनी आफ्नो समूह निर्माणमा लागि परेको एक नेताले बताए ।  महाधिवेशनमा गुट बलियो बनाउँदा आफु पनि बलियो हुने आकांक्षाका साथ गौतमले त्यो प्रयास गरेका उनी निकटका नेताहरुको दावी छ । ‘अव गुट चाहिने रहेछ, सबैले गुट बलियो बनाउन थाले, हामी चाही किन चुप बस्ने, सकभर बनाउने गरी जानुपर्यो‍’, उनले आफू निकटका नेताहरुलाई भन्न थालेको स्रोतले जनाएको छ । विगतमा पनि किसान संघमार्फत उनले आफ्नो गुटलाई सामान्य परिचालन गर्दै आएका थिए । विगतमा आफू बलियो हुन किसान संघका विभिन्न जनवर्गीय संगठन बनाएर त्यसमार्फत महाधिवेशन प्रतिनिधि ल्याउने गौतमको पुरानो शैलीलाई अहिले व्यूताउन खोजिएको पनि निकट नेताहरुले बताउने गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ